यस्तो मालपोत कार्यालय जहाँ सेवाग्राही सोफामा बसेर वाइफाइ चलाउँदै पालो कुर्छन्


काठमाडौं। मालपोत कार्यालय भनेपछि हाम्रो दिमागमा आउने पहिलो तस्बिर हो-भद्रगोल व्यवस्थापन, मानिसहरुको भिडभाड, परैसम्म सुनिने होहल्ला, सेवाग्राहीसँग दलालदेखि मालपोत कर्मचारीसम्मकै बार्गेनिङ।

तर अहिले मालपोत कार्यालय सुधारका लागि केही व्यक्तिहरु दिनरात लागि परेका छन्। तीमध्ये एक हुन् -मालपोत कार्यालय स्याङ्जाका प्रमुख प्रकाश पौडेल।
३० वर्षीय युवा पौडेल ७ वर्षदेखि विपश्यानामा आबद्ध छन्। यसैबीच उनी सरकारी सेवामा प्रवेश गरे। साधुु भएकैले उनी व्यक्तिगत सम्पत्तिमा विश्वास पनि गर्दैनन्।

सरकारी कार्यालय र कर्मचारी भनेपछि मुख बिगार्नुपर्ने अवस्था देखेका पौडेलले मालपोत कर्मचारी भनेपछि त अरु सरकारी कर्मचारीले समेत मुख बिगारेको अनुभूति गरेका थिए।

मालपोतको दागलाई चिर्न उनले कार्यालय प्रवेश गरेदेखि नै आचरण सुधारको सुरुवात गरेका थिए। उनले वृद्धवृद्धाको हात समातेर कार्यालयभित्र सबै कुरा सिकाउने बुझाउने र काम भएपछि पनि सुमधुर बोलीबाट विदाई गर्न सुरु गरे। सहकर्मी कर्मचारीहरुलाई पनि सेवा प्रवाह गर्दा सबैसँग मिठो बोल्न आग्रह गरे।

पौडेलले सरकारी सेवा सुरु गरेको एक वर्षमै कार्यालयको पुनर्संरचना गरे। अपांगता भएका, वृद्धवृद्धा, महिला, बालबालिकामैत्री लगायतका सबै मापदण्ड पूरा गरे। त्यसपछि स्याङ्जा मालपोतलाई गत वर्ष मंसिर १० गते सुधारिएको मालपोत कार्यालयका रूपमा घोषणा गरियो।

इन्टिग्रिटी अवार्ड पाएका महानिर्देशकले दिए हौसला
मालपोत कार्यालयलाई निर्देश गर्ने काम भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले गर्छन्। उनले कर्मचारीलाई निकै हौसला दिने मालपोत प्रमुख प्रकाश बताउँछन्।

महानिर्देशक पौडेल २०१७ को इन्टिग्रिटी अवार्ड पाउने उत्कृष्ट कर्मचारी थिए। उनले कर्मचारीलाई प्रविधिमा आधारित भएर काम गर्न र सही नियतले काम गर्दा आइपर्ने कानूनी जटिलतालाई आफैंले ह्यान्डल गर्ने बताउँछन्। त्यसकै प्रभावमा नेपालमै पहिलोपटक इमेलको भरमा कर्मचारी सरुवा र बैंकमा धितो जग्गा रोक्का-फुकुवाको कम हुन थालिसकेको छ। महानिर्देशकको हौसलाले काम गर्न थप उर्जा दिएको पौडेल बताउँछन्।

लकडाउनमा आफ्नै खर्चमा पेन्टिङ
कर्मचारीको आचरण नसुध्रिएसम्म कार्यालयका संरचना मात्रै सुध्रिएर परिवर्तन हुँदैन भन्ने कुरामा पौडेल सहमत थिए। त्यसैले उनले कर्मचारीलाई आध्यात्मिक प्रवचन दिए। आफ्नो कुरामा सहमत गराए। तीन महिना लामो लकडाउनमा पनि उनले कार्यालयका आन्तरिक काम रोकेनन्।

कम्प्युटर अधिकृत गोविन्द पौडेलसँग मिलेर आफ्नै पहलमा एउटा सफ्टवेयर बनाए। मालपोतका २५ हजार तामेली मिसिललाई लकडाउनकै बीच अनलाइनमा राखे।

कार्यालय खुले पनि कोरोनाको जोखिम रहिरहने भएकाले सुरक्षित भएर सेवा दिन कार्यालयमा भौतिक दुरी व्यवस्थापन गर्ने गरि थप काम पनि सम्पन्न गरे।


कार्यालयमा योग र ध्यान गर्ने हल बनाइएको छ। भित्ता भरी भगवानका चित्र कुदिएका छन्। मानिसहरु कार्यालयको बोर्ड हेरेर भित्र छिर्दा अरु कुनै ठाउँमा आइयो की भनेर अलमलमा पनि पर्छन्।

यसरी कार्यालयको पुनर्संरचना गर्न पौडेल आफैंले ५ लाख रुपैयाँ खर्च गरेका छन्। ‘म साधु हुँ, मलाई व्यक्तिगत सम्पत्तिको मोह हुँदैन। त्यसैले सरकारले दिने तलब भत्ता पनि कार्यालयकै लागि खर्च गरिदिन्छु,‘ पौडेलले भने।

सोफामा बसेर वाइफाइ चलाउँदै पालो कुर्छन् सेवाग्राही
जग्गा प्रशासन सम्बन्धी कामको लागि मालपोत कार्यालय स्याङ्जामा आउने सेवाग्राहीहरु कामको लागि लाइनमा उभिनु पर्दैन। आफ्ना कागजपत्र टेबलमा राखेपछि उनीहरु सोफामा बसेर आराम गर्न सक्छन्।

काम भएपछि हस्ताक्षर गर्न र प्रमाणपत्र लिनको लागि नाम बोलाइन्छ। त्यतिन्जेल सेवाग्राहीले बगैंचामा डुल्ने, योग हलमा बस्ने, सोफामा बसेर टीभी हेर्ने र वाइफाइ चलाएर बस्ने लगायत कार्यालय भित्रका विभिन्न कुराहरु हेर्न सक्छन्।

भित्तामा भगवान गौतम बुद्धका चित्रहरु कुँदिएका छन्। विभिन्न प्रसिद्ध व्यक्तिहरुका भनाई भित्तामा लेखिएका छन्। यी सबै कुरा हेरेर सेवाग्राहीले शान्तिको अनुभूति गर्ने पौडेल बताउँछन्।

राम्रै फर्निचर फाल्ने सरकारी ट्रेण्ड उल्ट्याए
सरकारी कार्यालयमा कमिसनको लागि राम्रै फर्निचर पनि नचलाएर नयाँ फर्निचरको लागि टेण्डर गर्ने परम्परा नै बनिसकेको छ। चल्ने गाडीलाई पनि नचल्ने भनेर नयाँ गाडी किनेका धेरै उदाहरण छन्।

तर स्याङ्जा मालपोतका प्रमुखले भने यो ट्रेण्डलाई उल्ट्याइदिए। आफ्नै खर्चमा कार्यालयका फर्निचर मर्मत गरेर सेवाग्राहीको लागि राखिदिए। केही नयाँ फर्निचर पनि थपेका छन्। यसले कार्यालयको शोभा बढाएको छ।

मानिसहरु पहिलोपटक कार्यालय पुग्दा छक्क पर्छन्। पटक पटक कार्यालय आउने सेवाग्राहीहरु भने बाहिरको चिन्ता थकान सबै बिर्सेर भगवानको शरणमा आएको महसुस गर्दै र शान्तिको अनुभूति गर्ने गरेको पौडेलले बताए।

दैनिक २०० बढी सेवाग्राही सन्तुष्ट
दैनिक २०० बढी सेवाग्राहीहरुलाई सन्तुष्ट हुनेगरि सेवा दिने गरेको पौडेलले दाबी गरे। मानिस पूर्णरूपमा सन्तुष्ट त कहिले पनि हुँदैनन्। योभन्दा अझ राम्रो भए भन्ने हुन्छ। हामी सेवाग्राहीलाई सन्तुष्ट राख्न आवश्यकता अनुसार परिवर्तन हुँदै जान्छौं,-उनले भने।

यसरी ध्यान गरेर आएका ५ जना कर्मचारी एउटा कार्यालयमा हुने हो भने निजामती कर्मचारीको परिचय नै परिवर्तन गर्न सकिनेमा पौडेल आत्मविश्वासी छन्। उनको सेवा प्रवाह गर्ने मन्त्र नै छुट्टै छ। उनी भन्छन- गुणस्तरीय सेवा प्रवाहका लागि भौतिक पूर्वाधार, जनशक्ति, प्रविधि, आत्मज्ञान र सेवाभाव हुनुपर्छ। जुन कुरा एउटा साधुसँग हुन्छ।

समाचार र तस्विर :  बिजमाण्डु डटकमबाट

प्रकाशित मितिः     8:51:50 AM  |