कृषकको भिडियो समाचार बनाउने पत्रकारलाई प्रधानमन्त्रीको फोन


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको जागिर छाडेर कृषि क्षेत्रमा लागेका गुल्मीका दिलीप भण्डारीको खेतीप्रति चासो देखाएका छन्। उनले रेसुंगा बागकारेमा औषधिजन्य खेतिपातीमा लागेको भण्डारीको खेतीप्रति चासो देखाएका हुन्।

एक युट्युबरले उनको खेतीको बारेमा भिडियो प्रशारण गरेपछि ओलीले त्यसबारे चासो देखाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘सेनाको जागिर छाडेर आयुर्वेदिक औषधि खेतीमा लाग्नुभएको प्रधानमन्त्रीले जानकारी पाउनु भएपछि त्यसबारे उहाँले फोन गरेर जानकारी लिनुभएको हो,’ उनले भने।

साताअघि भण्डारीको भिडियो सार्वजनिक गर्ने मोहन बस्‍नेत नेपाल अपडेट युट्युब च्यानल चलाउँछन्। रेसुंगा टेलिभिजनमा पनि काम गर्दै आएका उनैले ती किसानले गरिरहेको खेतीबारे भिडियो बनाएर पोस्ट गरेपछि हेरेका प्रधानमन्त्रीले यस्ता बिषयमा आफ्नो पनि चासो भएको बताएका हुन्। ‘यस्तो बिषयमा मेरो पनि चासो छ। नयाँ काममा लागि परेको व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ ।

घर खेत, बेचेर आयुर्वेदिक खेती लागेको उदाहरणीय हो’, प्रधानमन्त्रीले भनेका छन्, ‘अर्को एक व्यक्ति पनि मैले भेटेको छु। अष्ट्रेलियामा पढेर नेपाल आएर श्रीखण्ड र रुद्राक्ष आदि बिरुवा लगाएको खेती गर्न थालेको।’ ती युट्युबरसँगको कुराकानीमा प्रधानमन्त्रीले आफू पनि यस्तो काम गर्नेलाई हौसला दिन लागिरहेको बताएका छन्।

‘म पनि यस्तोमा लागेको छु, हौसला दिने काम गरिरहेको छु’ प्रधानमन्त्रीले भनेका छन्, -बेरोजगार भएर विदेश जाने राम्रो होइन। देशमै केही गर्न सके हामी बेरोजगार हुँदै हुँदैनौँ।’ आफ्नो भूमिको सही सदुपयोग गर्न सके आर्थिक समृद्धि हुने प्रधानमन्त्रीले बताएका छन्। कृषिमा जोड दिन भूमि बैंकको अवधारणा ल्याइएको पनि उनले बताए। ‘१० वर्षभित्र देशलाई समृद्ध बनाउन सक्छौ। यही प्रकृतिलाई सही रुपमा प्रयोग गर्न सके समृद्ध हुन्छौँ,’उनले भनेका छन्।

 

प्रकाशित मितिः     ११ भाद्र २०७७, बिहीबार १४:५४  |