पहुँचवालालाई ब्याजमा २ प्रतिशत छुट, साना हेरेको हेर्यै


काठमाडौं । पहुँचवाला ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले असार मसान्तमा हिसाव गरेर २ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन । तर, पहुँच नभएका साना ऋणीहरुले बैशाखपछिको कर्जामा छुट पाएका छैनन् ।

नेपाल राष्ट्र बैंकले बैशाखमा ल्याएको निर्देशनअनुसार सबै बैंक तथा वित्तीय संस्थाले ऋणीलाई २ प्रतिशत बिन्दूले ब्याजदर घटाउनुपर्ने उल्लेख छ । ठूला भनिएका धेरै बैंकहरुले केही ठूला ऋणीको ब्याजदर २ प्रतिशत बिन्दूले घटाए पनि साना ऋणीलाई अझैसम्म दिएका छैनन ।

विराटनगरका एक व्यापारीका अनुसार धेरैजसो बैंकले बैशाख, जेठ र असारमा २ प्रतिशत बिन्दूले ब्याज नघटाएको बताएका छन् । ‘आफूले ऋण लिएको बैंकसँग बारम्बार २ प्रतिशत ब्याज घटाउन आग्रह गरिसकें’ ती उद्योगीले क्यापिटल नेपालसंग भने, ‘ बैंकले विभिन्न बहाना देखाएर अहिलेसम्म ऋणको ब्याज घटाएको छैन ।’

वीरगञ्जका एक खाद्य उद्योगीका अनुसार धेरैजसो बैंकले २ प्रतिशत बिन्दू ब्याज नघटाएको बताए । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुमार ढकालले बैशाख, जेठ र असारको ऋणमा अनिवार्य २ प्रतिशत बिन्दूले ब्याज छुट दिनुपर्ने बताए ।


‘केन्द्रीय बैंकले कोरोनाबाट थलिएका उद्योगीलाई राहत दिन २ प्रतिशत बिन्दू ब्याज छुट दिन निर्देशन दिएको हो । यदि कुनै बैंकले त्यसलाई कार्यान्वयन गर्दैन भने, केन्द्रीय बैंकले कारबाही गर्छ’ उनले भने, ‘यदि कुनै बैंकले पाउनुपर्ने अन्तर्गतको कर्जा हो । बैंकले दिएन भने उजुरी हाल्न र त्यस्ता बैंकलाई हामी कानूनी दायरामा ल्याउने छौं ।’

केन्द्रीय बैंकले खाद्यान्न, मदिरा, चुरोट, औषधि उद्योगलाई लिइएको ऋणमा २ प्रतिशत छुट नपाउने र बाँकी अन्य उद्योगहरुलाई बैंकले अनिवार्य रुपमा २ प्रतिशत बिन्दूले छुट दिनुपर्ने ढकालले जानकारी दिए ।

पाउनै पर्ने केही ऋणीलाई पनि बैंकले २ प्रतिशत छुट दिएका छैनन भन्ने गुनासो आइरहेको बताउँदै ढकालले भने ‘बैंकले नदिएर सुख्खै छैन् ।’
खासगरी पहुँच भएका र साना ऋणमाथि बैंकले अत्याचार गरेको उद्योगीहरु बताउँछन् । ठूला ऋणीसँग बैंकले निहुँ खोज्दैनन् । तर, साना तथा पहुँच नभएका ऋणीमाथि बैंकले शोषण गर्ने गरेको उद्योगीहरुको बुझाइ छ । क्यापिटल नेपालबाट

प्रकाशित मितिः     7:34:20 PM  |