निषेधाज्ञासँगै कुखुराको मासु बिक्री ७० प्रतिशतले घट्यो


काठमाडौं। निषेधाज्ञासँगै कुखुरा बिक्री हुन छाडेपछि कुखुरापालक किसानले चल्ला नष्ट गर्न थालेका छन्। लकडाउनको दुई महिनाको जस्तै अवस्था आएपछि उनीहरुले चल्ला ह्याच नगरि नष्ट गर्न थालेका हुन्।

पोल्ट्री संघका अध्यक्ष जंगबहादुर विसीले कुखुराको कारोबार ३० प्रतिशतमा झरेपछि कुखुरा उत्पादन रोक्न चल्ला नष्ट गर्न थालिएको बताए। उनका अनुसार बोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि मूल्य पनि ह्वात्तै घटेको छ। उनका अनुसार बोइलर कुखुराको मासुको उपभोक्ता मूल्य २ सय ४० रुपैयाँ कायम भएको छ।

संघले जिउँदो कुखुराको मूल्य प्रति किलो १ सय ७० रुपैयाँ तोकेको छ। तर त्यो भन्दा पनि कममा बिक्री भइरहेको छ। निषेधाज्ञा अघि कुखुराको मासुको मूल्य किलोको ३ सय ९० रुपैयाँ थियो।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले निषेधाज्ञासँगै कुखुराको मासुको माग घटेको बताउँदै लागत भन्दा सस्तोमा कुखुरा बेच्नुपरेको बताए। उनका अनुसार चितवनमा जिउँदो कुखुरा प्रतिकिलो १ सय रुपैयाँमा पनि विक्न कठिन छ।


हेटौंडामा जिउँदो कुखुरा प्रतिकिलो १ सय ३० देखी १ सय ४० रुपैयाँमा किसानले बिक्री गर्न थालेका छन्। कुखुराको तयारी मासु प्रति किलो दुई सय रुपैयाँमा बिक्री भइरहेको छ।

कलंकीको कोल्ड स्टोरले कुखुराको मासु प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री गरेको छ भने वालाजुस्थित भ्याली कोल्ड स्टोरले प्रतिकिलो २ सय ४० रुपैयाँमा बिक्री गरिरहेको छ। भ्यालीका संचालक सक्षम घिमिरेले कुखुराको मासुको माग ३० प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए। उनले मासु बिक्री घटेपछि केही आउटलेट हटाउन लागेको जानकारी दिए।

भ्यालीका काठमाडौंमा सात वटा आउटलेट छन्। ुकोरोना कति लम्बिने निश्चित छैन्। त्यसैले महँगो भाडा लिएका ठाउँका आउटलेट हटाउन लागेका हौं,ु उनले बिजमाण्डूसँग भने। भ्याली समूहको आफ्नै तनहुँमा पोल्ट्री फार्म पनि छ। समूहले एक सातामा दुई लाख चल्ला उत्पादन गर्ने क्षमता छ। तर मासुको बिक्री हुन छाडेपछि धमाधम चल्ला नष्ट गरेको घिमिरेले बताए।

उनका अनुसार गत साता १० प्रतिशत र यो साता ३० प्रतिशत चल्ला नष्ट गर्नुपरेको छ। घिमिरेले अहिले ५० प्रतिशत मात्रै चल्ला बिक्री भइरहेको छ। उनले कोरोना संक्रमण बढ्दै गएकाले किसानले कुखुरा पाल्न कम गरेको बताए। चल्ला लगेर ४५ दिनसम्म दाना खुवाएर पाल्दा सय रुपैयाँ पनि पाउन मुस्किल भएपछि कसले कुखुरा पाल्छरुु उनले भने, -त्यही भएर अहिले चल्लाको बिक्री कम भएको हो। अहिले हामीले २० रुपैयाँमा चल्ला बिक्री गरिरहेका छौं। चल्लाको लागतनै ५० रुपैयाँ पर्छ। -सरला सुवेदी/बिजमाण्डू

प्रकाशित मितिः     7:37:58 AM  |