कोभिडले जागिर गुमाएका व्यापारमा जोडिदै, प्राथमिकतामा कृषि


नेपालगन्ज १६ भदौ :  लकडाउनका कारण बेरोजगार भएकाहरु निरास मात्र छैनन् नयाँ विकल्प खोजेर उद्यम एवं व्यवसाय सन्चालनमा समेत हात हाल्न थालेका छन् ।

अधिकांस समय जागिरे जीवन बिताएकाहरु अहिले व्यवसाय सम्हाल्नतिर लागेको पाइन्छ । कृषि,पशुपालन र खुद्रा व्यवसायमा उनीहरु संलग्न भएका छन् । लकडाउनका कारण यतिबेला बहुसंख्यक मानिसहरु बेरोजगार भएका छन् ।

लकडाउनका कारण पर्यटन, यातायात, शिक्षण जस्ता क्षेत्र सबैभन्दा बढि प्रभावित छन् ।

बाँकेमा मात्र यि क्षेत्रमा संयौ जना निर्भर थिए । सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र नै लकडाउनमा सबैभन्दा धेरै प्रभावित भएपछि बेरोजगार हुनेको संख्या अत्याधिक भएको हो । कामबिहिन भएपछि धेरैलाई मानसिक तनावले झेलिरहेको छ ।

अनिश्चित भविष्य बोकेर हिड्दा डिप्रेशनको सिकार हुने खतरा छ । बेरोजगार भएकाहरु कति गाउँ फर्किएका कृषि एवं अन्य पेश व्यवसाय अपनाउन थालेका छन् । केहीले शहरमा नयाँ बिकल्प खोजिरहेका छन् । तर फेरी उद्यम गर्न नसक्नेहरु भन्छन‘कृपया, कतै जागिर भेटिए भन्नुहोला !’

महामारी फैलिएसँगै देशभित्र र विदेशमा रहेका थुप्रै नेपाली बेरोजगार बनेका छन्, जसका लागि झन्डै १० लाख रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन्छ । यस अवधिमा थुप्रै उद्योग, व्यवसाय, अफिसहरू बन्द हुन पुगे । अझै पनि पर्यटन क्षेत्र सम्बद्ध व्यापार, व्यवसाय र अफिसहरू सञ्चालनमा आउन सकेका छैनन् ।

कोरोना भाइरसका कारण ११ चैतमा मुलुक लकडाउन भएसँगै हजारौँ मानिस बेरोजगार बने । पाँच महिनो बन्दाबन्दीमा कतिले जागिर गुमाए भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन । बाँकेमा बेरोजगार बनेकाहरु कृषि, पशुपालन जस्ता व्यवसायमा संलग्न हुन थालेका हुन । सरकारले सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेका कारण पनि उनीहरु व्यवसायमा संलग्न हुन थालेका हुन ।

प्रकाशित मितिः     १६ भाद्र २०७७, मंगलवार ०८:०२  |