भेरी अस्पताल अब पाँच सय शैयाको बन्छ, तर दरबन्दी अनुसार अहिल्यै छैनन् चिकित्सक


नेपालगन्ज १६ भदौ : स्थापनाको १ सय ३० वर्ष पुगेको भेरी अस्पताललाई पाँच सय शैया क्षमताको बनाइदै छ ।

हाल १ सय ५० शैयाको रहेको अस्पताललाई चालु आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा विशिष्टीकृत गर्ने निर्णयसंगै पाँच सय शैया क्षमताको बनाउने कार्य अगाडी बढेको छ ।

पश्चिमकै ठूलो रेफरल सरकारी अस्पतालका रुपमा रहेको भेरीमा ढिलै भएपनि पूर्वाधार विकासको काम भए पनि दरबन्दी अनुसारका कर्मचारी भने छैन । कर्मचारीको व्यवस्थापन गर्न सरकारका तर्फबाट भइरहेको उदासिनताले अस्पतालको सेवा प्रभावित बनेको छ ।

मंगलवार अस्पताल लगायत जिल्लाको स्वास्थ्य अवस्थाका विषयमा नागरिक सरोकार समिति बाँकेले बृहद छलफलको आयोजना गरेको छ ।

छलफलमा बाँकेका संघीय सांसद महेश्वर गहतराज अथक, मोेहद ईस्तियाक राई, प्रदेश सांसद याकुव अन्सारी, नेपालगन्जका मेयर धवल शम्सेर राणा लगायत सरोकारवाला निकायका अगुवाकोे उपस्थिती रहेको थियो । सो कार्यक्रमममा अस्पतालको स्तरोन्नतीका लागि आआफ्नो ठाउँमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

भेरी अस्पतालका विषयमा कार्यपत्र प्रस्तुत गर्दै अस्पताल विकास समितिका सदस्य धनिराम ओलीका अनुसार, अस्पतालमा चिकित्सकहरुको दरबन्दी ५७ जनाको रहेको छ । त्यस मध्ये १८ जना मात्र कार्यरत छन् । त्यस्तै नर्सिगंतर्फ ३४ जनाको दरबन्दी भएकोमा अस्थायी सहित ३२ जना कार्यरत छन् ।

लामो समयदेखि बिशेष चिकित्सकको समेत अभाव हुँदा अस्पतालको सेवा प्रभावित भएको छ ।
पश्चिम नेपालकै ठूलो अस्पतालका रुपमा सदैव स्थापित गर्न सबैले सक्रियतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने छलफलको निष्कर्ष रहेको नागरिक सरोकार समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

 

प्रकाशित मितिः     १६ भाद्र २०७७, मंगलवार १६:१७  |