त्रिभुवनचोकको श्रम बजारलाई कोरोना जोखिमले छेकेन, श्रमिक भन्छन्–‘यहाँ नआए भोकै भइन्छ’


बाँके १७ भदौ :  बाँकेमा पछिल्लो दुई दिनमा ८२ जना कोरोना संक्रमित थपिए । जोखिम दिन प्रतिदिन बढ्दै छ ।

भिडभाड नगर्न र नगराउन दैनिक जसो प्रहरी परिचालित भएका छन् । तर त्रिभुवनचोकको श्रम बजारमा बिहानैदेखि भिड लाग्छ । बिभिन्न ठाउँमा श्रमिकहरु त्रिभुवनचोक जम्मा हुन्छन् । त्यहीबाट काम काममा जान्छन् । श्रमिक र श्रम लगाउनेका लागि त्रिभुवनचोक पहिल्यैदेखि परिचित छ ।

काम खोज्ने र कामदार खोज्नेका लागि यो राम्रै श्रम बजारका रुपमा चिनिन्छ ।

जो कोरोना कहरको चपेटामा पर्दा समेत रोकिएको छैन । श्रमिक भन्छन् –‘दिनभर काम गरेर साँझ बिहानको छा टार्नुपर्छ, काम खोज्दै यहाँ नआए भोकै मरिन्छ ।’ केही दिन अघि गरिएको स्वाब परीक्षणका क्रममा मजदुहरुलाई संक्रमण देखिएपछि त्रिभुवनचोकक्षेत्र नै सिल गरिएको थियो । अहिले पनि अवस्था जोखिमयुक्त रहेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।

उनी थप्छन्–
बाँकेमा अस्ति ४२ जना र हिजो ४२ जनामा कोभिड–१९ पोजेटिभ केश थपिदा समेत त्रिभुवन चोकमा जम्मा हुने मानिसहरूको यो अवस्था छ । उहाँहरू कै अनुसार मजदुरी गरि दैनिक गुजारा चलाउनेहरुका लागी सकेसम्म राहतको ब्यबस्थापन गरि केहि समय लकडाउन को आबस्यकता देखिएको छ ।

बर्दियाका कृष्ण थारु काम खोज्दै त्रिभुवनचोकमा दैनिक जम्मा हुन थालेको पाँच वर्ष भयो । तीन जनाको परिवार यसै श्रमबजारले दिने रोजगारीबाट आउने आम्दानीले टरेको छ । श्रीमान श्रीमती नै काम गर्छन । कोरोना कहरले कामहरु खुम्चिएका छन् । अन्त काम बाहेक बिकल्प छैन । मिल्ने भनेकै मजदुरी हो । त्यसैले कामको हर्जा भएको छैन ।

थारु भन्छन्–‘अहिले यहीबाट पाइने रोजगारीले जिवन गुजारा भइरहेको छ । अरु बिकल्प नै छैन । कोरोनाको डर भन्दा भोकै मरिने डर धेरै छ । घरमै बसेर साँझ बिहानको छाक टार्न सकिदैन ।’ दैनिक कति त्रिभुवनचोकमा जम्मा हुन्छन् भन्ने एकिन छैन । तर यो पश्चिमकै सम्भवत ठूलो श्रम बजार भने हो ।

 

प्रकाशित मितिः     १७ भाद्र २०७७, बुधबार ०९:२८  |