तरकारी किन्दा फुरेको आईडिया ‘मेट्रो तरकारी’


काठमाडौं । मानिस आफुले चाहे जस्तो सफलता त्यतिकै हासिल गर्दैन । सफल हुन नयाँनयाँ आइडिया, जुक्ति लगाउनै पर्छ । र, त्यो आइडियालाई स्थापित गर्न मिहिनेत पनि चाहिन्छ । नयाँ आइडिया र मिहिनेतले नेपालमा स्थापित भएको ई–कमर्श कम्पनी हो, मेट्रो तरकारी ।

व्यवसाय गर्दा ठूलो लगानीबाटै सम्भव छ भन्ने ट्रेन्ड नेपालमा धेरै अघिदेखि चल्दै आएको छ । तर, त्यो मान्यतालाई पछि पार्दै थोरै लगानीमै सफल उद्यमी बनेर देखाएका व्यवसायी हुन् अनिल बस्नेत । सिर्जनात्मक बन्ने हो भने थोरै लगानीमै उद्यमी बन्न र धेरैलाई रोजगारी दिन सकिन्छ’ भन्ने धारणालाई उनले प्रमाणित गरेर देखाएका छन् । दाङबाट काठमाडौं आएका बस्नेत आईटी इन्जिनियरसमेत हुन् ।

देशमा सम्भावना नदेखेर विदेश पलायन भएका आईटी इन्जिनियरहरुका लागि अनिल उदाहारणीय व्यक्ति बनेका छन् । करिब ८ वर्षअघि आईटी इन्जिनियर क्षेत्रमै करिअर खोज्दै गरेका अनिललाई नयाँ काम गरेर देखाउँने जोश चल्यो । सोहि जोशमा तीन जना सहकर्मीसँगको सहकार्यमा घर घरमै तरकारी डेलिभरी गर्न ‘मेट्रो तरकारी’ सञ्चालनमा ल्याए ।

मेट्रो तरकारी सुरु गर्दा अनिलसहित हन्मल शाही, निखिल शर्मा, ईश्वर आर्चाय थिए । अहिले अनिल बाहेक तिनै जना कम्पनी छाडेर अमेरिका नै बस्दै आएका छन् । अहिले मेट्रो तरकारी अनिल एक्लैले हाँकिरहेका छन् ।

मेट्रो तरकारी सन् २०१२ बाट सेवा सुरु भएको कम्पनी हो । जति बेला फुडमाण्डु, सस्तोडिल लगाएतका ई–कमर्श कम्पनी सञ्चालनमा आइसकेका थिए । मेट्रो तरकारी सुरु गर्नुभन्दा अगाडी आईटीको जागिरेमा रहेका अनिल त्यहाँबाट दिक्क भएर नयाँ कन्सेप्टका साथ अघि बढेका थिए । पहिला अनिल वेब डेभलपरको रुपमा कार्यरत थिए ।

२००८ देखि २०११ सम्म वेव डेभलपरको रुपमा काम गरेका उनले त्यतिबेलानै चार जनाको टिमसहित मेट्रो भ्वाइस नामक आईटी कम्पनी सञ्चालन गरेका थिए । अहिले आईटीलाई नयाँ तरिकाबाट विजनेशमा रुपान्तरण गरेका छन् । वेब डेभलप, हार्डवेयर, सफ्टवयरको कामहरु गरेर आफ्नो दैनिकी बिताएका अनिलले नयाँ प्रोडक्टको साथ मेट्रो तरकारीलाई नेपाली बजारमा उतारेका हुन् । त्यसैको माध्यमबाट ग्राहकको घर घरमै फ्रेस तरकारीको स्वाद चखाइरहेका पनि छन् ।

त्यति बेला पनि अनलाइनमार्फत इलेक्ट्रोनिक्स, कपडा, मोबाइल लगायतका सामान बिक्री गर्ने ई–कमर्श कम्पनी सञ्चालनमा थिए तर, ग्राहकलाई तरकारी अनलाइन मार्फत उपलब्ध गराउने मेट्रो तरकारी पहिलो कम्पनी हो ।

कसरी गर्छ काम ?

मेट्रो तरकारीलाई ग्राहक तथा विजनेश साइटहरुले चाहिएको मात्रामा एक दिन अगाडीनै तरकारी अर्डर गर्छन् । अर्डर कलेक्ट गररे भोलिपल्ट विहानदेखि डेलिभरी सुरु हुन्छ । होम डेलिभरीका लागि दुई सिफ्ट तोकिएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ देखि ८ बजेसम्म अर्को सिफ्टमा तरकारी डेलिभरी हुन्छ । मेट्रो तरकारीसँग ५० भन्दा बढी तरकारी फार्महरु आवद्ध छन ।

सोहि फार्ममार्फत तरकारी कलेक्सन गरिसकेपछि कम्पनीले वयरहाउसमा ग्रेडिङ् गरी प्याकिङ् गरेर डेलिभरी सुरु हुन्छ । ग्राहकले वेवसाइट र फेसबुक पेज मार्फत तरकारी अर्डर गर्न सक्छन् ।

अनिल भन्छन ‘नेपालमा विषादी हालेको अबौंको तरकारी भारतबाट भित्रिएको भन्ने सुनिन्छ, नेपालमै पनि किसानले तरकारी उब्जनी गर्दापनि बजार नपाएको भन्दै कयौं समाचार आउने गरेका छन तर मेट्रो तरकारीले किसानकै बारीमा गएर तरकारी किन्ने गर्छ’ ।

यसरी फुर्यो आइडिया

दाङबाट काठमाडौं पढ्न आएका अनिल तरकारी किन्न बजार धाउनुपर्ने बाध्यताबाट दिक्क भएका थिए । आईटि कम्पनी सञ्चालन गर्दा बेलुकासम्म अफिसमा बस्नुपर्ने र घर जाँदा पसल बन्द हुने तरकारी नपाउने समस्याले उनलाई पिरलेको थियो । यहि समस्याले उनलाई तरकारीमात्रै होमडेलिभरी मार्फत मानिसको घर घरमा सेवा दिन कति सम्भब छ भन्ने विषयमा अध्ययन गर्न थाले ।

त्यहिबाट तीन साथी सहितको सहयोगले तरकारी, माछामासु तथा फलफुल डेलिभरी गरेर उपत्यकाका ग्राहकलाई सेवा दिने योजना फुर्यो । दिउँसो तरकारी किन्ने समय नहुने र बेलुकी ढिला समयसम्म अफिसको कामले व्यस्त रहनुपर्ने व्यस्त कस्टुमरहरुलाई नै मुख्य फोकस गरेर कम्पनी अघि बढ्यो ।

मेट्रो तरकारीका संस्थापक बस्नेत भन्छन ‘ओभरटाइम ड्युटि गर्ने कर्मचारी हाम्रो सेवाको नियमित ग्राहक बन्नुभएको छ भने सन्तुष्ट पनि हुनुहुन्छ’ ।

विजनेस, सेवा र त्यस्ता ग्राहकलाई मुख्य फोकस गरेर कम्पनी अघि बढेको यो कम्पनीले यतिवेला करोडौंको व्यापार गरिसकेको छ । मेट्रो पहिले देखिनै कम्पनीको ब्रान्ड नाम नै थियो । पछि मेट्रो र तरकारी नाम जोडर मेट्रो तरकारी डटकम खुलेको हो । हाल अनिल किसानले तरकारी उत्पादन गरेकै ठाउँमा पुगेर तरकारीसँग चेक साट्ने गरेका छन् ।

सुरुवाति चरणमा कम्पनीले ९विटुसी० विजनेशदेखि ग्राहकसम्म सेवा पुर्याउने काम गरिरहेको थियो । मेट्रो तरकारी सुरु भएको दुई बर्षपछि ९विटुवी० विजनेश देखि विजनेशसम्म सेवा दिन थाल्यो । योसँगै स्कुल क्यान्टिन लगायतका क्षेत्रमा पनि कम्पनीको पहुँच पुग्यो । हाल मेट्रो तरकारीले १०० भन्दा बढी रेष्टुरेन्ट तथा होटलहरु, २० भन्दा बढी स्कुल क्यान्टिनसँग पनि सहकार्य गरिसकेको छ ।

संस्थापक बस्नेतका अनुसार मेट्रो तरकारीले मासिक ४० लाख रुपैयाँ बढी अनलाइन कारोबार गरिरहेको छ । उनि भन्छन‘ हाम्रो अनलाइन मार्फत बार्षिक रुपमा ५ करोड रुपैयाँबढीको कारोबार हुने गरेको छ’ ।

‘अनलाइबाट तरकारी किन्ने ग्राहक विस्तारै बढिरहेका छन्’ संस्थापक बस्नेतले भने ‘पसलमा गएर खरिद गर्ने प्रचलनलाई विस्तारै हटाउँदै ग्राहकलाई अनलाइन विजनेश तिर तान्ने कम्पनीको योजना छ’ । होटल रेष्टुरेन्टको लथालिङ् किचन रेक्युमेन्ट सिस्टमलाई पनि मेट्रो तरकारीले डेटा बेसमा आधारित सेवामा केन्द्रीत रहेको छ । कम्पनीले २०१९ मा विजनेश टु रिटेलर ९विटुआर० सेवा पनि सुरु गर्यो ।

‘आफै वेवडेभलपर भएको कारण अनलाइन मार्फत काम गर्न सहजनै भयो’ बस्नेतले भने ‘सुरुमा थोरै थोरै तरकारी अर्डरबाट आएको पैसालाई नै विजेनशमा कन्र्भट गर्र्र्दै कम्पनीलाई ग्रो अप गदै लगिएको हो’ ।

हाल मेट्रो तरकारीसँग २० जना कर्मचारीहरु छन् । कम्पनी सुरु गर्दा नयाँ कन्सेप्ट मात्र थियो तर अनुभव थिएन । साथीभाईको साथ र हौसलाले कम्पनी खोलिको थियो । कसरी अगाडी बढ्ने भन्ने बिषयमा कुनै प्लान थिएन । विस्तारै मेट्रो तरकारी सुरु भएपछि विजनेशलाई अगाडी बढाउँदै गएको संस्थापक बस्नेतले बताए ।

‘कृषकलाई प्रोत्साहन र राम्रो मूल्य दिने हो भने उत्पादन बढाउन सकिन्छ,’ उनी भन्छन्, ‘मानिसले होइन, मेसिनले काम गर्ने हो, त्यसैले उत्पादन बढाउन सकिन्छ ।’

लकडाउनमा सजिलो

विगत ६ महिनादेखि लकडाउन निषेधाज्ञा चलिरहेको छ । तरकारी फलफूल अत्यावश्यक बस्तुभित्रै पर्ने भएकाले होम डेलिभरीमार्फत यतिवेला यो विजनेश फस्टाइरहेको छ । लकडाउनको समयमा सोचेको भन्दा बढीनै ग्राहक र विजनेश अगाडी बढेको संस्थापक बस्नेत बताउँछन् ।

‘हामीले सात वर्षसम्म गरेको बिजनेश चार महिनामै ग्राहक र अर्डरहरु बढेको छ, कारोबार पनि सोहि अनुसार नै बढ्दै गएको छ’ उनले भने । अहिले मेट्रो तरकारीले अहिले व्यापारलाई भन्दा पनि सेवालाई बढी फोकस गरिरहेको उनले बताए ।

कम्पनीसँग पुराना रेगुलर ग्राहक त छदैछन तर लकडाउनले नयाँ ग्राहक पनि पाएको छ । पहिला फेसन र अनुभवको लागि मात्र तरकारी अनलाइन सपिङ हुन्थयो भने अहिले यतिवेला अनिवार्य जस्तै भएर पनि कम्पनीलाई सजिलो भएको छ । हाल काठमाडौं उपत्यकाका होटल रेष्टुरेन्ट बन्द रहेको कारण व्यक्तिगत ग्राहकलाई नै मेट्रोले तरकारीले सेवा दिइरहेको छ ।

तरकारी मार्फत तरकारी अर्डर गर्ने व्यक्तिगत ग्राहक ६० हजार रुपैयाँ भन्दा बढी भइसकेका छन् । विटुवी अर्डर पनि त्यतिकै मात्रामा बढीरहेको छ । उनी भन्छन, ७ बर्षमा जति ग्राहक बढेका थिए अहिले तीन महिनामै त्यो सङ्ख्यामा नयाँ ग्राहक थपिएका छन् । यसले हामिलाई ठूलो हौसला मिलिरहेको छ ।

मेट्रो तरकारी दीर्घकालिन सोचका साथ आएको कम्पनी हो । सात वर्ष संघर्ष गरिसकेको मेट्रो तरकारीले सोहिअनुसार लगानी, ग्राहक, बजार र जनशक्ति बढाउने तयारी गरिरहेको छ ।

मेट्रो तरकारीले समयअनुसार विजनेश मोडललाई परिवर्तन गर्दै लगेको छ । सुरुवाती चरणमा विटुसी मोडलमा मात्रै जाने भनेर अगाडी बढेपनि समयको मागअनुसार नयाँ नयाँ योजनाका साथ अघि बढ्दै गएको छ ।

रिटेलरसम्म तरकारी पुर्याउने कार्यलाई पनि प्राथमिकता दिदै आएको छ । लकडाउनमा कम्पनीले आफ्नै आउटलेट सुरु गरेको छ । अब कम्पनीले रिटेल चेन खोलर तरकारीहरु सप्लाई गर्ने योजना अघि सारेको छ । युवराज बस्नेत/क्यापिटल नेपालडटकमबाट

प्रकाशित मितिः     १७ भाद्र २०७७, बुधबार १२:४२  |