नेपालगन्ज १७ भदौ : मुगु जिल्लाको वाणिज्य बैंक शाखामा कारोवार गर्न आएका सेवाग्रहिबाट बैंकले एक हजारको नक्कली नोट फेला पारेको छ ।
मंगलबार छायाँनाथ रारा नगरपालिका–१३ का सुरथ बहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको एक हजारको नोट माथी शंका लागेपछि राष्ट्रिय वाणिज्य बैंक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको हो ।
एक हजारको एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरेर घर फर्किसकेपछि अन्य नोट भन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको बैंकका नगद सहायक सरोज न्यौपानेले जानकारी गराए ।
भेटिएको नोटमा सक्कली नोट भन्दा तौल कम भएको,रंग फिंंक्का देखिएको,हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको,पानी छापमा रहेको लालीगुराँस नभएको,नोटको बीचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाइएको उनको भनाइ छ ।
छायाँनाथ रारा नगरपालिका–१३ भट्टेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिन आउने ग्राहक मध्य कसैले उक्त नोट दिएको रहेछ मंगलबार होटेलमा आएका सबैले उक्त नोट नक्कली भएको भनेपछि आफुले बैकलाई बुझाएको नोट धनी सुरथ बहादुर रावतले बताए ।
नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइएको बैंकले बताएको छ ।