बाँसगढीको सिजी फुड्समा कार्यरत थप एकजनामा कोरोना देखियो


नेपालगन्ज १७ भदौ :  एक जना महिला कामदारमा कोरोना संक्रमण देखिएपछि बर्दियाको बाँसगढीस्थित चौधरी समूहको सिजी फुड सिल गरिएको छ ।

बिहिवारको स्वाब परीक्षणमा थप कामदारमा कोरोना पुष्टि भएपछि सबैको स्वाब परीक्षण गनृ लागेको इलाका प्रशासन कार्यालय बर्दियाका प्रमुख डिल्लीराम आचार्यले बताए ।

कोरोना परिक्षणका क्रममा महिला कामदारमा कोरोना देखिएको थियो । सिजी फुड पश्चिमकै ठूलो मध्यको उद्योग हो । पश्चिम नेपालमा सम्भवत चौधरी ग्रुपको पहिलो उद्योग समेत हो ।

चौधरी ग्रुपले २०७३ सालबाट चाउचाउ उत्पादन थालेको छ हो । बाँसगढी ४ पुष्पनगरको कारखानाबाट उत्पादित चाउचाउ मुख्य रूपमा मध्य र सुदूरपश्चिममा बिक्री वितरण गर्दै आएको छ ।

हाल दैनिक ९ हजार कार्टुन उत्पादन सुरु गरिएको थियो । त्यहाँ तीन सय जति कर्मचारी कार्यरत छन् । आचार्यका अनुसार त्यहाँ कार्यरत महिला कामदारलाई टाईफाईड भएपछि उपचारका लागि नेपालगन्ज आएकी थिइन । उपचार गर्नुपूर्वक स्वाब परीक्षणका क्रममा उनको कोरोना भेटिएको हो ।


अब उद्योगमा कार्यरतहरुको कोरोना परीक्षण गर्न बाँकी छ । करिब १ अर्ब लगानीमा सञ्चालित उद्योग रहेको स्थानमा अन्य कारखानासमेत राखेर समूहले औद्योगिक ग्रामकै रूपमा विस्तार गर्ने योजना बनाएको छ । हाल चौधरी ग्रुपको नवलपरासीमा यस्तै ग्राम छ ।

समूहले देशैभरि यस्तै पाँच वटा औद्योगिक ग्राम खोल्ने योजना बनाएको छ । यो ग्रुपको नेतृत्व नेपालका अर्बपति विनोद चौधरीले गर्छन् । उनी फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा छन् । ग्रुपको चाउचाउबाहेक बियर, बैंकिङ, टेलिकम्युनिकेसन्स, सिमेन्ट, जलविद्युत् लगायतका क्षेत्रमा लगानी छ ।

 

 

 

प्रकाशित मितिः     7:35:27 PM  |