हप्तामा दुई दिने निषेधाज्ञा आजबाट, औचित्य माथि प्रश्न उठाउँदै पुर्नविचारको माग


नेपालगन्ज २० भदौ :  बाँकेमा हरेक दिन ४५ जना संक्रमित थपिदै छन् । पछिल्लो चारदिनको तथ्यांकलाई केलाउने हो भने दैनिक संक्रमित थपिनेको संख्या ४५ बढि छ । थप जोखिम आकलन गर्दै बाँकेमा आज शुक्रवारदेखि लागु हुने गरी हरेक हप्ताको शुक्रवार र शनिवार निषेधाज्ञा गरिदै छ । अनावश्यकरुपमा हिडडुलमा समेत रोक लगाउने गरी निषेधाज्ञा गर्न लागिएको हो । हेर्नुहोस् निषेधाज्ञामा के गर्न मिल्छ के गर्न मिल्दैन ?

तर जनस्तरमा यो निर्णयको तिब्र आलोचना भएको छ । लामो समयदेखिको लकडाउनबाट आजित भएका सर्बसाधारणले हप्तामा दुई दिन गरिने निषेधाज्ञाको औचित्य माथि प्रश्न उठाइरहेका छन् । सामाजिक सन्जालमा टिप्पणी गर्दै उनीहरु भन्छन्–‘कोरोना शुक्रवार र शनिवार आउने जस्तो गरेर किन हप्तामा दुई दिन निषेधाज्ञा गर्ने निर्णय गरेको ?’ यो निर्णले कोरोनाको जोखिम घटाउन कुनै भूमिका नखेल्ने बताउँदै सर्वसाधारणले निर्णयमा पुर्नविचार गर्न माग गरेका छन् ।

यता कोभिड बिरुद्धको अभियानमा प्रशासनसंग सहकार्य गर्दै आएको निजीक्षेत्रले समेत असन्तुष्टि प्रकट गरेको छ । हप्तामा दुई दिन निषेधाज्ञा गर्ने निर्णयका बारेमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई कुनै जानकारी नभएको महासचिव चिरञ्जीवी ओलीले बताए ।


उनले निकास र जोखिम कम नगर्ने निर्णय फिर्ता हुनुपर्ने बताउँछन् । संघकै बरिष्ठ उपाध्यक्ष आदेश अग्रवालले हप्तामा दुई दिनको निषेधाज्ञाले कुनै पनि परिणाम नदिने बताउँछन् । घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुषालले लकडाउनकै औचित्य माथि प्रश्न उठिरहेका बेला बाँकेमा भएको दुई दिने निषेधाज्ञाको अर्थ नभएको बताए ।

बाँकेमा प्रशासनले लकडाउन खुकुलो बनाउँदै आर्थिक गतिविधि बढाउन दिएपछि निजी क्षेत्र समेत समेत उत्साहित छ । सरोकारवाला निकायले स्वास्थ्य प्रोटोकल पालना भए नभएको अनुगमन गरिरहेका बेला भएको दुई दिने निषेधाज्ञाले उनीहरुलाई निरुत्साहित बनाएको छ । तर यता रहेक दिन जसो संक्रमित बढ्दै गएका कारण संक्रमणको चेन टुटाउनका लागि दुई दिन भएपनि निषेधाज्ञा लगाउनुपर्ने बाध्य रहेको प्रशासनले सुनाएको छ ।

 

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार ०७:५२  |
error: Content is protected !!