मरिचमान सिंहले उद्घाटन गरेको सडक ३ दशक बित्दा समेत स्तरोन्नति भएन


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने खलंगा–कुपिन्डे–बालुवासंग्रही सडक ३२ वर्षदेखि स्तरोन्नति हुन सकेको छैन । वर्षात्को समयमा पानीको भेलले कच्ची सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी पार्दा सवारीसाधन सञ्चालन असहज हुनुका साथै पैदल यात्रुलाई समेत सास्ती हुने गरेको छ । करीब ३३ किलोमिटर उक्त सडक खण्डमा दिगो रूपमा सवारीसाधन चल्न सकेका छैनन् ।

तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले २०४५ सालमा सल्यान सदरमुकाम खलंगाबाट पश्चिम बन्गाड क्षेत्र जोड्ने ‘खलंगा–कुपिण्डे–बालुवासंग्रही सडक’ उद्घाटन गरेका थिए । निर्माणको ३ दशक बितिसक्दा पनि सो सडकको स्तरोन्नति हुन नसकेको हो । मुश्किलले साना गाडीमात्रै चलाउन सकिने उक्त सडकको मर्मतसम्भारका नाममा राज्यले करोडौं रकम खर्च गर्दै आएको छ ।

पछिल्लो समय यही सडकमा ग्राभेल र वटासिलका लागि राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत २४ करोड ६१ लाख १८ हजार बजेट छुट्याइयो । सम्झौता अनुसार ३ वर्षपहिले नै काम सम्पन्न भइसक्नुपर्ने हो । तर ३२ दशमलव ४० किलोमिटरमध्ये १८ दशमलव ६० किलोमिटर मात्र वटासिल गरिएको छ भने ग्राभेल गरिएको बाँकी सडकको अवस्था नाजुक छ । सडक निर्माण कम्पनीहरूले वर्षा र निर्माण सामग्री अभावले समयमै काम सम्पन्न हुन नसकेको बताउँदै आएका छन् ।

यो सडक पश्चिम रुकुम र सल्यानको पूर्व क्षेत्रलाई प्रदेशको राजधानी सुर्खेतसँग जोड्ने सबैभन्दा छोटो पर्छ । सरकारले केही समयअघि सार्वजनिक गरेको देशका १०० पर्यटकीय स्थलमा पर्ने कुपिण्डे दह पनि यसै सडक खण्डमा पर्दछ । त्यस्तै सल्यानको पश्चिम क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्ने छोटो सडक समेत यही हो । तर यति धेरै आवश्यकता हुँदाहुँदै पनि न सरकारले बजेट खन्याउन छोड्छ, न सडकको अवस्था भने सुध्रिन्छ ।

यस्तै कर्णाली राजमार्गको अवस्था पनि उस्तै छ । २०६३ मा ट्र्याक खोलिएको उक्त राजमार्गमा अहिले पनि ढुक्कले यात्रा गर्न सकिने अवस्था छैन । कालीकोट, मुगु, हुम्ला र जुम्लालाई राजधानी सुर्खेतसँग जोड्ने एकमात्र विकल्प कर्णाली राजमार्ग मर्मतका लागि राज्यले गर्ने खर्चको हिसाबकिताब लामो छ । वर्षामा आउने बाढीपहिरो पन्छाउन मात्रै राज्यको करोडौं रकम खर्च हुने गरेको सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाका अधिकारी बताउँछन् ।

डोल्पालाई भर्खरैमात्र सडक सञ्जालमा जोड्न सफल जाजरकोट–डोल्पा सडकखण्डको अवस्था पनि उस्तै छ । चीनको मरिम्ला र भारतको जमुनाहा नाका जोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय सडकमा वर्षौंदेखि १ दर्जनभन्दा बढी पुल अधुरै छन् । २०६५ सालदेखि नेपाली सेनाले ट्र्याक खोल्न शुरू गरेको ११८ किलोमिटर सडकले ११ वर्षपछि डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा त जोड्यो । तर डोल्पा–सुर्खेत सीधा बस सेवा शुरू हुन सकेको छैन । भेरी कोरिडोर नाम दिइएको यही सडकले एकातिर उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको मोरिम्ला भन्ज्याङ, दक्षिणमा भारतसँगको रूपैडिहा नाका र डोल्पालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्छ । उक्त सडकमा कालोपत्र र पुल निर्माण अधुरै छ ।

यस्तै कर्णाली कोरिडोर पनि १८ वर्षसम्म पूरा हुन सकेको छैन । राष्ट्रिय सडक सञ्जालमा नछोडिएको नेपालको एकमात्र जिल्ला हुम्लालाई प्रदेशको राजधानी सुर्खेतसँग र हिल्सा–जमुनाह जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । उक्त कोरिडोरको १९६ किलोमिटरमध्ये ९४ किलोमिटर नेपाली सेना र सडक विभागमार्फत निर्माण भएको छ । आकाशतारा बयक(आर्थिक अभियानबाट)

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार ०९:५३  |