नेपालगन्जका तालले पुर्नजीवन पाए, अब पर्यटक तान्छन्


तस्विर : रमेश मल्लको फेसबुकबाट

बिदाको दिन नेपालगञ्जमा कहाँ घुम्न जाने ? जवाफ हो,–‘रानी तलाउ ।’ रानी तलाउमा मान्छेको भीड लाग्छ  । बोटिङ गर्न, माछालाई चारो हाल्न र बालबालिका लिएर रमणीय दृश्य हेर्न स्थानीयले मन पराउन थालेका छन् ।

यो पुरानो शहरको बिदा मनाउने र मन भुलाउने प्रमुख आधार रानी तलाउ नै बनेको छ । स्थानीय कुश कुमार गुप्ता भन्छन्,–‘शनिवारका दिन हजार भन्दा बढिको भिड देख्न पाइन्छ ।’ लकडाउनका कारण हरेक गतिविधि जस्तै रानी तलाउ पनि अहिले सुनसान छ । लकडाउन खुलेर फेरी गुल्जार हुने पर्खाइमा छ नेपालगन्जका तलाउहरु । लकडाउन खुल्ने वित्तिकै आन्तरिक पर्यटकका लागि आर्कषणको केन्द्र बन्ने छन् अहिले पुर्नजीवन पाएका तलाउहरु ।

लामो समय वेवारिसे बनेको रानी तलाउले पुर्नजिवन पाएका छन् । झन्डै २३ लाख रुपैयाँ लगानीमा पुनः मर्मत गरेपछि तलाउ सन्चालनमा आएको नेपालगञ्जका मेयर धवल शमसेर राणा बताउँछन् ।

पहिलो पटक २०५६ मा मेयर हुँदा उनैले रानी तलाउ बनाएका थिए । बिचमा धेरै समय बन्द भयो । दोस्रो पटक मेयर भएका राणाले मर्मत गरेर रानी तलाउ सन्चालनमा ल्याएका हुन ।

मान्छेहरू घन्टौं चारो हाल्ने र माछासँग रमाउन रानी तलाउ धाउने गर्छन । खास गरी सार्वजनिक बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको भीड लाग्छ । सात महिनामा १ हजार हजारको हाराहारीमा पर्यटक घुम्न आएको आएका छन् ।

नगरपालिका अन्य तालतलाउ पनि जोगाउने अभियानमा छ । झण्डै पाँच दशक लामो प्रयासपछि नेपालगन्जको वाटरपार्क यसै आर्थिक बर्षबाट सञ्चालनमा आउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देशयले निर्माण गरिएको नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको वाटरपार्क आयोजनाले यसै आर्थिक बर्षबाट ठेक्का प्रकृयाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

पाँच दशकदेखि वाटरपार्क जग्गा एकिकरण आयोजना मार्फत ल्याण्ड कुलिङ (जमिन चिस्यान) प्रकृया अनुसार योजना अगाडी बढेको नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापामगर बताउछिन् ।

उनले वाटरपार्क निर्माण योजनामा शहरी बिकास तथा प्राबिधिक आयोजनाबाट करिब ४ करोड लगानी भैसकेको बताउदै नेपालगन्ज उपमहानगरपालिकामा निर्माण गर्ने अधिकार हस्तान्तरण भएपछि उपमहानगरपालिकाले झण्डै ६५ लाख लगानी गरेर सरसफाई, पार्क वरपर फूटपाथ निर्माण, रेलिङ निर्माण, सोलार बत्ती जडान, आगन्तुक वस्ने कुर्सी देखि बृक्षारोपन कार्य सम्पन्न गरिसकेको बताईन् । यसै बर्षको आर्थिक बर्षदेखि नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का आयोजना मार्फत वाटरपार्कलाई सञ्चालनमा ल्याउने र चाँडो भन्दा चाँडो आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तयारी भएको उप प्रमुख थापाले जनाईन् ।

वाटरपार्क क्षेत्र एउटा टोलको मात्र नभई समग्र नेपालगन्जकै राम्रो आयोजना भएको स्थानीय बिबेक श्रेष्ठ बताउछन् । उनले वाटरपार्कले शहरको कोलाहलको बातावरणबाट आएर यस ठाँउमा पुग्दा स्वच्छ वातावरणमा आनन्द लिनुका साथै पर्यटकलाई आकर्षण गर्ने गन्तब्य बनेको बताउदै उनले बाँकी निर्माणका कार्य चाँडै सम्पन्न गर्ने र दीर्घकालिन समय सम्म यसको अस्तित्व जोगाई राख्न संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए ।

वाटरपार्क पहिले गौचरण क्षेत्र भएको र हाल आएर दृश्य अवलोकन, बिहान बेलुकाको वाकिङ गर्ने देखि नेपालगन्जकै रमणिय पर्यटकीय क्षेत्र भएको स्थानीय ओम नारायण शाह बताउछन् ।

नेपालगन्ज उपमहानगरपालिका १ मा निर्माण गरिएको वाटरपार्कमा दैनिक मर्निङ तथा इभिनिङ वाक देखि साईक्लिङ, योग गर्नेहरुको गन्तब्य बन्दै गएको छ । बुढापाका देखि युवाहरुको दैनिक वाठरपार्कको दृश्यावलोकन र आनन्द लिने ठाउँ बनेको छ वाटरपार्क । थप निर्माण गर्नुपर्ने कामलाई चाँडै निर्माण गरेर सञ्चालनमा ल्याई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके वाटरपार्क बाँके जिल्लाकै पर्यटकीय गन्तब्य बन्ने संभावना देखिन्छ ।

कान्ति, फुटाह र वाटर पार्क पनि उस्तै नेपालगन्ज उपमहानगरपालिका–२२ (पुरैनी) र वडा–२१ (पुरैना)मा अवस्थित कान्ति ताल सयौं वर्ष पुरानो हो । १० करोडमाथिको लगानी रहेको यो ताल अहिले निर्माणधीन छ ।

‘कान्ति ताल नेपालगन्जको ड्रिम प्रोजेक्ट हो,’ प्रमुख राणाले भने, ‘दुई वर्षभित्र पूरा गर्ने योजना छ ।’ पुष्पाञ्जलीरपीएसजेबी कम्पनीले ९ करोड ४८ लाख रुपैयाँमा ठेक्का लिएको छ । २५ बिघा जग्गामा रहेको ताल लामो समयदेखि अलपत्र थियो । स्थानीयले फोहोर फाल्ने थलो बनाएका थिए । नगरपालिकाले अलपत्र तालको संरक्षण गर्न थालेपछि यहाँ स्थानीयका जमिनले समेत भाउ पाउन थालेका छन ।

कान्ति तालमा बोटिङ, माछा पालन, वृक्षरोपण, चिल्ड्रेन पार्क, पिकनिक स्पटलगायत अत्याधुनिक शैलीको संरचना बनाउने नगरको योजना छ । नेपालगन्ज उपमहानगरपालिकाले हालसम्म पाँचवटा ताल संरक्षण गरेको छ । अरु चारवटा गर्ने तयारीमा छ । त्यससँगै स–साना तलाउको खोजी गरेर जनस्तरमा ताल जोगाउ अभियानमा जोड दिने रााणाले बताए ।

उपमहानगरपालिका–१९ मा रहेको फुटाह ताल पनि १५ लाख बराबरको लगानीमा सफा गरिएको उनले सुनाए । झन्डै चार बिघा जग्गामा रहेको तालमा भने व्यावसायिक रूपमा माछा पाल्ने र पदमार्ग बनाउने ड्रिम प्रोजेक्ट रहेको छ । बाँकेको छिमेकी जिल्ला बर्दियामा बढैयाताल छ । देशकै सबैभन्दा धेरै माछा उत्पादन हुने बढैयाताललाई पर्यटकीयस्थलका रुपमा बिस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार १३:२८  |