नेपालगन्ज २१ भदौ : बाँकेको जानकी गाउँपालिकामा रहेको अम्बे समूहले छड उत्पादन शुरु गरेको छ ।
छड उत्पादनमा देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेले रु ३ अर्वको लगानीमा यहाँ उद्योग स्थापना गरेको हो । लकडाउनपूर्व नै उत्पादन शुरु भए पनि बीचको केही महिना उत्पादन रोकिएको थियो ।
अवस्था सामान्य भएपछि फेरी उत्पादन शुरु गरिएको व्यवस्थापक अनुज श्रेष्ठले बताए ।
६५ प्रतिशत स्थानीय कामदार राखेर उद्योग सन्चालन भइरहे पनि प्राविधिक जनशक्ति ल्याउन नसकेका कारण उद्योग पूर्णक्षमतामा सन्चालन हुन कठिनाई भएको छ । अन्य उद्योग जस्तै अम्बेले सन्चालनको शुरुवातमै लकडाउनको मार खेप्नुपरेको छ ।
उक्त उद्योगको मंसिर २० गते औपचारिक पूजा गरिएको थियो । यो समूहको दोस्रो डन्डीको प्लान्ट हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ।
जानकीमा रहेको उद्योग भैरहवाकोे भन्दा पनि ठुलो क्षमताको हो । जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले मंसिर २० गते औपचारिक पूजा गरेका थिए । उक्त उद्योगले दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्ने लक्ष्य राखेको छ ।
तर लकडाउनका कारण पूर्णक्षमतामा उद्योग सन्चालन हुन सकेको छैन ।
अम्बे समूहको रुपन्देहीमा पहिल्यैबाट स्टिल उद्योग सन्चालनमा छ । तर त्यो भन्दा अहिले गनापुरमा बन्दै गरेको उद्योगको उत्पादन क्षमता झण्डै दोब्बर हो । पूर्णक्षमतामा सन्चालन हुँदा दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्नेछ । तर सुरुवातको चरणमा क्षमता अनुसार उत्पादन हुने गाहे पर्ने प्राविधिकहरु बताउँछन् ।
उक्त उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गर्नेछ । ४० एमएमको छडहरु जलबिद्युत आयोजना जस्ता ठुला पूर्वाधार निर्माणको काममा लगाउन प्रयोग हुन्छ । जलबिद्युत आयोजना जस्ता कामहरु बढ्दै गएकाले उक्त छडको माग बढ्ने देखेर अम्बे स्टिलले उत्पादन गर्न लागेको हो ।