तत्काल स्कुल/ कलेज नखुल्ने, के भन्छन् मन्त्री पोखरेल ?


कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ।

कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकोले शैक्षिक संस्थाहरू तत्काल खुल्ने सम्भावना नरहेको भन्दै मन्त्रालयले अनलाइनलगायत विधिबाटै सिकाइ निरन्तरता दिन लागेको हो।

यो शैक्षिक सत्रको साडे चार महिना सकिइसकेको छ। यस्तो अवस्थामा शैक्षिक सत्र खेर जान नदिई कसरी पठनपाठन गरिन्छ तरु

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला र भर्चुअल कक्षा गरी चारवटै तरिकाबाट वैकल्पिक शिक्षा सञ्चालन भइरहेका छन्।

सुगमदेखि दुर्गमसम्मका विद्यार्थीले घर नै शिक्षालय वा घरमै बसेर वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुपर्ने उनले बताए।

विद्यालय, प्राविधिक र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठन सुरू भइसकेकोले त्यसैलाई निरन्तरता दिने शिक्षा मन्त्रालयको तयारी छ।

विद्यार्थी विद्यालय आउने अवस्था अहिले नरहेकोले शिक्षक नै विद्यार्थीकहाँ पुग्नुपर्ने मन्त्री पोखरेल तर्क गर्छन्।

‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिनेमध्ये कुनकुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ,’ उनले भने।

साथै शिक्षकहरूले टेलिफोनबाट विद्यार्थीको नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्ने उनले जानकारी दिए।

अनलाइन कक्षालगायतलाई मान्यता दिन र त्यसको पनि क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेको उनले बताए।

‘कोरोना महामारी अवधिभर वैकल्पिक विधिबाट पठनपाठन नै मूल प्रणालीको रूपमा विकास गर्न हामी सबै लागेका छौं,’ शिक्षा मन्त्री पोखरेलले भने।

अहिलेको अवस्थामा पाठ्यक्रमलाई यथावत रूपमा अगाडि बढाउन कठिन हुने देखिएकोले पाठ्यक्रम संस्लेषण गर्न लागिएको उनले जानकारी दिए।

‘यथावत रूपमा पाठ्यक्रमलाई अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रम सस्लेषण गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘अत्यावश्यक विषयबस्तु समेट्ने गरी पाठ्यक्रम संस्लेषित गरिन्छ। भदौ महिनाभित्र संस्लेषित गरेको पाठ्यक्रम उपलब्ध हुन्छ।’

विद्यालयभन्दा बाहिर जिल्ला रहेका शिक्षकलाई विद्यालय जान मन्त्रालयको आग्रह छ।

बरू प्रशासनबाट विद्यालय जानसम्मका लागि समन्वयको व्यवस्था हुने, सम्बन्धित विद्यालय गइसकेपछि १४ दिन क्वारेन्टिन बस्न र आवश्यक परेमा पिसीआर परीक्षणको व्यवस्थासमेत हुने मन्त्री पोखरेल बताउँछन्।

स्थानीय तहले विद्यालय र शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरूको व्यवस्था गरी वैकल्पिक सिकाइ कार्यक्रम सञ्चालनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलले बताए।

यसो भन्छन् मन्त्री पोखरेल

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव हाम्रो देशमा दिनदिनै बढीरहेकोे संकटपूर्ण अवस्थामा सामान्य जीवनका नियमित प्रक्रियाहरु अवरुद्ध भएका छन्।

सबै क्षेत्रलाई प्रभावित पारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ। तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुख चुनौति बनेको छ।

करिब ९० लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट बञ्चित छन्। पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरुको चिन्ता बढ्दै गएको छ।

शिक्षा क्षेत्रमा कोभिड १९ को महामारीले सिर्जना गरेको यो अभूतपूर्व संकटको सामना गर्न पुरानै सोच, शैली र पद्धतिबाट सम्भव छैन भन्ने हामीले बुझेका छौं।

विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठनको शुरुआत गरिसकिएको छ। शुरु गरिएको वैकल्पिक पद्धतिलाई सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्नको आवश्यकता छ।

वैकल्पिक शिक्षा पद्धति सम्बन्धमा केहि भ्रम रहेको पनि देखिएको छ।

यदाकदा अनलाइन वा भर्चुअल कक्षालाई नै वैकल्पिकशिक्षा पद्धतिको रुपमाबुझ्ने गरेको पनि देखिन्छ। हाम्रो जस्तो इन्टरनेटको सुविधा सीमित भएको मुलुकमा यो एउटा उपाय मात्र हो। जुन सीमित विद्यार्थीको लागि मात्र पहुँचमा हुन्छ।

तसर्थ, अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालय वा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षा गरी चार वटै तरिकाको समष्टि नै वैकल्पिक शिक्षा हो।

अझ भन्ने हो भने होमस्कुलिङ र रेडियो पाठशालाजस्ता तरिका नै ग्रामिण तथा विकट क्षेत्रहरुमा उपयोगी हुन आउँछ। यिनीहरुले मुलुकभरका विद्यार्थीको ठूलो हिस्सालाई समेट्छ।

चारवटै तरिकामा आधारित कार्यक्रमहरूको समानान्तर रुपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु आजको मुख्य कार्यभार हो।

यसका लागि “सबैका लागि बैकल्पिक शिक्षा” भन्ने नाराका साथ सिकाइ निरन्तरताको अभियान नै चलाउनु पर्ने छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको हैसियतले यस अभियानमा सरिक भई योगदान दिन सबैमा अनुरोध गर्दछु।

विद्यार्थी विद्यालय जाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थीसम्म पुग्नुको विकल्प छैन। घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्छ।


विद्यार्थी भाइबहिनीहरुले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्रीअध्ययन गर्ने, अनलाइन कक्षा लिनेमध्ये कुनकुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ।

यसलाई शिक्षक साथीहरुले टेलिफोनबाट नियमितअनुगमन र सिकाइ सहजीकरण गर्नुहुनेछ।

टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजनाकार्य दिने, अध्ययनकालागि परामर्श गर्ने जस्ता कामहरु गर्नु शिक्षकको कर्तव्य भएको छ।

यो संकटको घडीमा सबै शिक्षकहरुले यस अभियानको केन्द्र भागमा रहेर रचनात्मक तथा सिर्जनात्मक ढंगले विद्यार्थीको सिकाइका लागि अमूल्य योगदान गर्नुपर्छ।

कुशल राष्ट्रसेवकको हैसियतले आफ्नो जिम्मेवारी थप कुशलतापूर्वक निर्वाह गर्न र चुनौतिलाई अवसरमा बदल्दै अघि बढ्न सम्पूर्ण शिक्षक साथीहरुलाई आग्रह गर्दछु।

होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अन्लाइन कक्षा आदी बैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई पनि मान्यता दिन त्यसको क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेकोले यो पद्धतिलाई अब कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमाविकास गर्न हामी सबै लागेका छौं।

महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय तथा विश्वविद्यालयशिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजानुपर्छ।

विद्यालय तथा शिक्षालय अवरुद्ध भए पनि विद्यार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्दै जाने तथानियमित र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाउँदै सिकाइ सुनिश्चित गर्नु नै अहिलेको सही निकास हो।

महामारीका कारण घरमै बस्न बाध्य आफ्ना बालबालिकाहरुलाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकले भूमिका खेल्नुपर्छ।

सबेरै उठ्ने, नित्यकर्म एवम् सरसफाइ गर्ने, योग तथा व्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, मनोरञ्जन गर्नेजस्ता गतिविधिहरुमा संलग्न गराई स्वस्थ रहन सहयोग गर्नु अभिभावकको जिम्मेवारी हो।

आफ्ना बालबालिकाहरुले पुस्तक तथा अन्य उपलब्ध पाठ्यसामग्री पढ्ने, रेडियो पाठशाला कार्यक्रम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजना कार्य गर्ने, भर्चुअल कक्षा लिनेजस्ता क्रियाकलापमा कति सक्रिय छन् र के कति सिकेका छन् भन्ने कुरामाअभिभावकहरुले चासो दिनुपर्छ।

अनलाइन कक्षा लिएको नाममा सामाजिक सञ्जालको अधिक प्रयोग गर्ने, अमर्यादित साइट हेर्ने, साइबर अपराधजन्य गतिविधिमा अग्रसर हुने, अनलाइन गेम खेल्नेजस्ता गतिविधिबाट जोगाउन उत्तिकै आवश्यक छ।

आफ्ना बालबालिकाहरुलाई सिकाइका लागि उपयुर्युक वातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलत क्रियाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलनआउन नदिन सम्पूर्ण अभिभावकज्यूहरुमा हार्दिक अनुरोध गर्दछु।

हाल सञ्चालित वैकल्पिक सिकाइका विभिन्न माध्यमभित्र समेटिन नसकेका विपन्न, अपाङ्गता भएका, दुर्गम क्षेत्रमा बसोवास गर्ने बालबालिकाको सिकाइ सुनिश्चित गर्न तीनै तहका सरकारले समन्वयात्मक रुपमा कार्य गर्ने गरी एक कार्ययोजनाको मातहत कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिना बितिसकेको अवस्थामा अहिलेको पाठ्यक्रमलाई यथावत रुपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संस्लेषण ९कस्टमाइजेसन० गर्ने निर्णय भइसकेको छ।

हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्य ढाँचा जारी गरिने छ। यसका लागि विषयगत टोलीहरुले कार्य प्रारम्भ गरिसकेका छन्। यही भदौ महिनाभित्र हामी संस्लेशित पाठ्यक्रम उपलब्ध गराउने छौं।

मैले विश्वविद्यालयका उपकुलपतिहरुलाई कम्तिमा पनि ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर सार्वजनिक गर्न निर्देशन दिईसकेको यहाँहरुलाई जानकारी नै छ।

धेरै विश्वविद्यालयहरुले सोहीअनुसारको कार्यतालिका मन्त्रालयमा पठाइसकेका पनि छन्। त्यसलाई विद्यार्थीका लागि सार्वजनिक गरिदिन सम्पूर्ण विश्वविद्यालयलाई फेरि अनुरोध गर्दछु।

साथै उच्चशिक्षाको हकमा पनि पाठ्यक्रम कस्टेमाइजेसन गर्न विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरुले छलफल गरी उचित निर्णय लिन पनि आग्रह गर्दछु।

सबैका लागि बैकल्पिक शिक्षा भन्ने अभियानलाई सफल पार्नका लागि विद्यार्थीले नियमित पठनपाठनमा लाग्नुपर्छ। शिक्षकले विद्यार्थीहरु को, कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको ट्रेसिङ गरी वैकल्पिक पद्धतिमा सामेल गराउनुपर्छ।

त्यसैगरी सिकाइको ट्र्याकिङ गर्नुपर्छ। स्थानीय तहले विद्यालय तथा शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरुको समेत व्यवस्था गरी बैकल्पिक सिकाइका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। सोको अनुगमन तथा निरीक्षण गरी प्रभावकारिता मूल्यांकन गर्दै सुधारका उपायहरु अवलम्बन गर्नुपर्छ।

निजी विद्यालयले सञ्चालन गरेको वैकल्पिक सिकाइका कार्यक्रम तथा त्यस्ता विद्यालयका शिक्षक तलबलगायतका समस्या हल हुने गरी शुल्कको सीमा निर्धारण गरी निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहहरुलाई आग्रह गर्दछु।

शिक्षकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बीमा गर्ने प्रक्रिया अघि बढिसकेको छ। कार्यरत विद्यालय रहेको जिल्लाभन्दा बाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालयसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्नेछन्। विद्यालय रहेको स्थानीय तहले त्यस्ता शिक्षकलाई १४ दिनसम्म होम क्वारेन्टिनमा राखी पिसिआर परीक्षणको व्यवस्था पनि गर्नुपर्छ।

अन्तमा, यस विषम परिस्थितिमा विद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जान नदिन हामी सबै मिलेर काम गर्नु परेको छ।

शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामापुग्न सक्छौं।

तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं।

अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गरौं।

विद्यालय र विश्वविद्यालयनखुले पनि शिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार पारौं। सबै सचेत रहौं, सुरक्षित रहौं। सबै खालका चुनौतिहरुलाई अवसरमा बदलौं। धन्यवाद।

प्रशन्न पोखरेल/ सेतोपाटी डटकमबाट

प्रकाशित मितिः     4:28:41 PM  |