जनस्तरबाटै नेपालगन्जमा तयार भयो कोभिड बिशेष अस्पताल


नेपालगन्ज २५ भाद्र :  बाँकेको नेपालगन्जमा भेरी कोरोना विशेष अस्पताल आज उद्घाटन गरिएको छ । एसी, सिसि क्यामरा र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको आज उद्घाटन भएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीहरुका लागि निर्माण गरिएको भेरी कोरोना विशेष अस्पताल एक कार्यक्रमका विच उद्घाटन गरि संचालनमा आएको छ । प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी कोरोना विशेष अस्पतालको रिबन काटेर उद्घाटन गरे ।

एक सय बेड सहितको कोरोना विशेष अस्पतालमा ७ वटा भेन्टिलेटर सहितको बेड रहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी गराए । अहिलेलाई ओपीडी सेवा, आइसोलेसनको व्यवस्था र आईसीयू सेवा दिने गरी विशेष अस्पताल संचालनमा ल्याएकोे अस्पतालले जनाएको छ ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढदै गएको हुनाले कोरोना अस्पतालमा बढि जोड दिएको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी गराए ।

एसी, सिसि क्यामरा, भेन्टिलेटर, बाथरुमको राम्रो व्यवस्थाका साथ कोरोना विशेष अस्पताल संचालनमा ल्याएका छौं उनले भने । गम्भीर प्रकृतिका विरामीलाई उपचार गर्न सहज तरिकाले कोरोना विशेष अस्पतालको व्यवस्था गरिएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले कोरोनाबाट कारण कुनै पनि बिरामीलाई उपचार गर्नबाट बन्चित नगरिने स्पष्ट पारेका छन् ।

कोभिड बिशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले कोरोना संक्रमणका बिरामीको ज्यान जोगाउन अस्पताल प्रभावकारी हुने बताए । उनले पूर्वाधार सम्पन्न बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै धन्यवाद दिए । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकार बजेटको मात्र भरनपरी अस्पताल निर्माण हुन नसकेको बताए ।

बाँकेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई विशेष कोरोना अस्पतालको रुपमा लिइएको छ । बाँकेमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः     २५ भाद्र २०७७, बिहीबार १६:२५  |