बैंक एकाउन्ट : आबश्यकता र महत्व


बैंक खाता एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । प्राय बैंकहरुमा ३ प्रकारका खाताहरु हुने गर्दछन् ।

खातामा पैसा जम्मा गर्दा भौचर भर्नुपर्दछ । ग्राहकहरुको कारोबार विवरण बैंकले ग्राहकको पास बुकमा भरिदिन्छ भने पछिल्ला दिनहरुमा प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाहरुले पासबुकको सट्टा आवश्यकता अनुसार बैंक स्टेटमेन्ट उपलब्ध गराउँदै आएका छन् । यसबाट ग्राहकको आफ्नो कारोवार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याज र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ ।

बैंक खाता खोल्न आवश्यक कागजातहरु
बैंक खाता खोल्नको लागि नागरिकताको प्रमाणपत्र, फोटो, पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, दस्तखत नमूना जस्ता विवरण आवश्यक छ । नाबालकको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो, आवेदन फाराममा दस्तखत आवश्यक पर्छ । यसका साथै खाता खोल्दा ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक विवरण, बाबु बाजेको नाम जस्ता सम्पुर्ण विवरण दिनु पर्ने व्यवस्था गरिएको छ ।

बैंक खाताका प्रकार

चल्ती खाता
आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योगी, व्यापारी तथा कार्यालयहरुका लागि यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता
बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सिमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सिमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । विद्यार्थी, युवा, गृहिणी बुढाबुढीहरु सबैका लागि यो खाता उपयोगी हुन्छ ।

मुद्दती खाता
मुद्दती खाता निश्चित समय अवधि तोकेर रकम जम्मा गरिने खाता नै मुद्दती खाता हो । यस खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मका लागि निश्चित समय तोकेर रकम जम्मा गरिन्छ । यस खातामा राखेको पैसाको व्याजदर पनि बचत खाताको भन्दा केही बढी नै हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार १९:०७  |