घरजग्गा कारोबारमा ठगिनबाट कसरी जोगिने ? यस्ता छन् सुरक्षित लेनदेनका उपाय


व्यावसायिक र व्यावहारिक जीवनमा लेनदेनको ठूलो महत्व हुन्छ । घरजग्गा खरिद, नयाँ व्यवसायको सुरुवात, घर निर्माणजस्ता कार्य सानाठूला लेनदेनबीना प्रायः सम्भव हुँदैनन् । आफन्तसँग लेनदेन, सरसापट गरी व्यवहार चलाउनुपर्ने बाध्यता धेरैलाई आइपर्छ ।

लेनदेनको व्यवहार असल आचरण भएका व्यक्तिसँग गर्न सकेमा व्यावहारिक जीवनमा आइपर्ने सानोठूलो गर्जो सजिलैसँग टार्न सकिन्छ, व्यवसायमा राम्रो मुनाफा आर्जन गरी ऋणमुक्त भई चाँडो आर्थिक स्तर उकास्न सकिन्छ ।

तर, गलत मनसाय भएका व्यक्तिसँग लेनदेन हुन गएमा त्यसका कारण आर्थिक, मानसिक तनाव उत्पन्न भई ठूलो क्षति बेहोर्नुपर्ने, कारोबार र व्यवसाय डामाडोल हुने स्थिति आउन सक्छ । क्षतिपूर्तिका लागि कानुनी उपचार खोज्न अड्डा–अदालत धाउनुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

सामान्यतया लेनदेन नजिकका नातेदार, साथीभाइ र व्यावसायिक सम्बन्धका व्यक्तिसँग गरिन्छ । राम्रो र विश्वसनीय सम्बन्धका कारण कतिले बिनालिखत असुरक्षित तरिकाले लेनदेन गर्छन् । त्यस्तो लेनदेनमा भविष्यमा कुनै कारणवश दुई पक्षको सम्बन्ध बिग्रिएमा अप्ठ्यारो पर्न सक्छ । प्रमाणको अभावमा कानुनी समस्या उत्पन्न भई लेनदेनको रकम नै डुब्न सक्छ ।

लिखित प्रमाणबिना मौखिक भनाइका आधारमा मात्र कानुनले कारबाही गर्न सक्दैन । त्यसैले कानुनी रूपमा सुरक्षित हुन जतिसुकै नजिकको नातासम्बन्ध भए पनि बिनालिखत प्रमाण आर्थिक कारोबार गर्नु हुँदैन ।

के छ कानुनी व्यवस्था ?

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १५ ले लेनदेन व्यवहारसम्बन्धी अपनाउनु पर्ने कानुनी व्यवस्थाको बारेमा व्याख्या गरेको छ । कानुनले ‘दुई वा दुईभन्दा बढी व्यक्तिबीच कुनै शर्त राखी कुनै रकम वा वस्तु लिनुरदिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिने छ ।’ भनेर परिभाषित गरेको छ भने यस कानुनको अधीनमा रही कारोबार गर्दा ‘कसैले पनि कानुनबमोजिम लिखत नगरी लेनदेन गर्न नहुने’ उल्लेख छ ।

के–के हुन् त लिखत ?

सामान्यतया लेनदेनमा प्रयोग हुने कपाली तमसुक, बण्डापत्रको कागज, जग्गा बैनाबट्टाको कागज, करारपत्र, घरबहाल सम्झौताको कागज विभिन्न घरसारका कागजलगायत नेपाली कागजमा तयार गरिने कागजपत्रलाई परम्परागत रूपमा लिखत भनेर बुझ्ने गरिएता पनि मुलुकी देवानी संहिता २०७४ मा भएको नयाँ व्यवस्थाले अन्य प्रमाणलाई पनि लिखतको मान्यता दिएको छ ।

सुरक्षित लेनदेनका लागि लिनेरदिने पक्षले असजिलो नमानी अनुभवी लेखनदास वा कानुन व्यवसायीबाट कानुन बमोजिको रीत पुगेको लिखत तयार गर्न लगाउनुपर्छ ।

जसमा ‘लिखत भन्नाले कुनै लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाई समेतका कागजात सम्झनुपर्छ ।’ भन्ने उल्लेख छ ।

कसरी गर्ने त सुरक्षित लेनदेन ?

रीतपूर्वकको लिखत

सुरक्षित लेनदेनका लागि लिनेरदिने पक्षले असजिलो नमानी अनुभवी लेखनदास वा कानुन व्यवसायीबाट कानुन बमोजिको रीत पुगेको लिखत तयार गर्न लगाउनुपर्छ । यसरी तयार पार्ने लिखतमा लेनदेन गर्ने व्यक्तिको नाम, थर, उमेर, ठेगाना र आमाबाबु, बाजे–बजैको नाम, विवाहित व्यक्ति भए पतिरपत्नीको नाम उल्लेख गर्नुपर्छ । त्यसैगरी लेनदेन गर्नु परेको कारण, लेनदेनको परिमाण, कुनै वस्तु लेनदेन गरेमा त्यस्तो वस्तुको मूल्य उल्लेख गर्नुपर्छ ।

कुनै वस्तु निश्चित समयपछि फिर्ता गर्ने गरी सापटी, पैँचो वा अन्य तवरले लिनुरदिनु गरेको भए, सट्टापट्टा गरेको भए त्यस्तो बेहोरा, लेनदेन गरेको रकम बुझाउने मिती, लेनदेन गर्दा ब्याज लिनेरदिने भए ब्याजको दर र लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य शर्त पूरा नगरेमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा, लिखत गरिएको ठाउँ, लिखत तयार गरिएको मिती लगायत कुरा खुलाउनुपर्छ ।

लिखतलाई कानुनले महत्वपूर्ण प्रमाण र आधार मान्ने, मुद्दा–मामिला गरी असुलउपर गरी लेनदेनको रकम लिनुपर्ने भएमा, लिखतमा लेखे बमोजिमका कुरामा मात्र मागदाबी लिन पाइने भएकोले लिखत लेख्दा कुनै कुरा छुटाउनु हुँदैन ।

त्यसैले सकेसम्म लिखतको महत्व बुझेको अनुभवी व्यक्तिलाई लिखत तयार पार्न लगाउनुपर्छ । लिखतमा दुई जना साक्षीले सही गरेको र मस्यौदा गर्ने मस्यौदाकारले प्रमाणित गरेको हुनुपर्छ।


वडाबाट प्रमाणित गराउनुपर्ने

५० हजार रुपैयाँभन्दा बढीको लेनदेन भएको लिखत सम्बन्धित व्यक्तिको स्थायी वा अस्थायी बसोबास भएको वा कारोबार भएको ठाउँकोे वडा कार्यालयबाट प्रमाणित गराउनुपर्छ । कानुनबमोजिम प्रमाणित गर्नुपर्ने र प्रमाणित भएको लिखतले मात्र कानुनी मान्यता पाउने हुँदा प्रमाणित गराउन बिर्सनु हुँदैन ।

सम्बन्धित वडा कार्यालयमा लेनदेन गर्ने दुवैपक्ष उपस्थित भई निवेदन दिएपछि कानुन बमोजिमको शुल्क लिई दुबै पक्षको रोहवरमा वडा कार्यालयले लिखत प्रमाणित गरिदिन्छ ।

नगदको कारोबार निषेध

लेनदेनलाई प्रभावकारी बनाउन र कानुनी रूपमा प्रमाण खडा गर्न पनि सकेसम्म चेकमार्फत कारोबार गर्नुपर्छ । हातहातै नगद कारोबार गर्दा औपचारिक लिखत बनाउन नभ्याएको खण्डमा कारोबारको कुनै प्रमाण नरहन सक्छ । तर, ऋणीको नाममा चेककाटी बैंक वा वित्तीय संस्थामार्फत कारोबार गर्दा कसले रकम लगेको हो भनी अभिलेखमा नामसमेत रहने हुँदा आवश्यक परेमा त्यसैलाई लिखत प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, तिर्नुपर्ने रकमको हकमा पनि सम्बन्धित व्यक्ति वा संस्थाको खातामा जम्मा गरी भौचर सुरक्षित राखेमा आवश्यक पर्दा प्रमाणको रूपमा पेश गर्न सकिन्छ ।

सावा वा ब्याज भुक्तानीको प्रमाण

लेनदेन रकमको सावा र ब्याज एकैपटक भुक्तानी गर्न नसकी पटक–पटक गरेर चुक्ता गर्नुपर्ने भएमा त्यसरी चुक्ता गर्दा हरेक पटकको रकम बुझेकोरबुझाएको बिल भरपाई बनाउन बिर्सनु हुँदैन । औपचारिक भरपाई बनाउन असम्भव भएपनि व्यक्तिगत भए, सानो कागजमा ‘फलानोसँग यो बापतको यति रकम बुझिलिएँ’ भनी हस्ताक्षर गराउनुपर्छ भने संस्थागत भए संस्थाको छाप र आधिकारिक व्यक्तिको हस्ताक्षर भएको कागज प्रमाणको लागि माग्न बिर्सनु हुँदैन ।

नतिरेमा कसरी खोज्ने कानुनी उपचार

लेनदेन व्यवहारमा कुनै एक पक्षले शर्तको उल्लंघन गरेमा वा तिर्नु, बुझाउनुपर्ने रकम नतिरेमा पीडित वा मर्का पर्ने पक्षले कानुन व्यवसायीमार्फत अदालतमा मुद्दा–मामिला गरी सावाँ रकम र कानुन बमोजिमको ब्याज भराई असुलउपर गरी लिन सक्ने कानुनी व्यवस्था छ ।

अदालतबाट साहुले ब्याजसमेत पाउने गरी फैसला भएकोमा साहुले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितीसम्मको ब्याजसमेत पाउनेछ । लिखतमा जतिसुकै लेखेको भएतापनि कानुन बमोजिमको वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज अदालतले भराउन सक्ने छैन । साथै, कुनै क्षतिपूर्ति लिनुपर्ने भएमा फिरादपत्रमा मागदाबी लिएको हुनुपर्छ । त्यसो भएमा अदालतले स्वविवेक प्रयोग गरी मागदाबीबमोजिम पूरै वा आंशिक रूपमा क्षतिपूर्ति भराइदिन सक्छ ।

मुद्दा दर्ता गर्दा लेनदेन लिखतमा रकम उल्लेख भएकोमा पीडित पक्ष वा वादीले अदालतले तोके बमोजिमको ‘कोर्ट फि’ तिर्नुपर्छ । मुद्दा फैसला भई वादीले जितेको खण्डमा अदालतले हार्ने पक्षबाट सो रकम असुल गराइदिन्छ ।

कहिलेसम्म गर्ने मुद्दा

मुद्दा गर्न पाउने अवधि वा समयलाई कानुनी भाषामा हदम्याद भनिन्छ । घरसारमा भएको लिखतको अवधि वा हदम्याद बढीमा १० वर्षको हुन्छ । प्रकृति अनुसार छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम हुन्छ भने कुनै लिखतमा अवधि उल्लेख भएकोमा सो अवधि नाघेको मिति र लिखत नभएको वा अन्य अवस्थामा मुद्दा गर्नुपर्ने कारण परेको मितीले एक वर्षभित्र कानुनी उपचार खोज्न अदालत जानुपर्छ ।

कानुनको अधीनमा रही वा कानुनी प्रक्रिया पुर्‍याई गरिएको लेनदेनले व्यावहारिक जीवनमा आइपर्न सक्ने कठिनाइबाट सजिलै पार पाउन सकिन्छ।

लेनदेन गरेको प्रमाण कुनै किसिमको कागजबाट देखिएमा रीत पुर्‍याई लिखत नगरे पनि कुनै लिखत, बैंकिङ कारोबार, विनिमय अधिकारपत्र, चेक, भौचरबाट वा बहीखातामा लेखिएको बेहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको कुरा देखिएमा अदालतले त्यस्तो लिखत, बैंकिङ कारोबार, विनिमय अधिकारपत्र, चेक, भौचरबाट वा बहीखातामा लेखिएको आधारमा मुद्दा गर्ने व्यक्तिलाई ऋणीबाट त्यस्तो रकम भरार्ई दिन सक्ने अधिकार नयाँ कानुनी व्यवस्थाले सुनिश्चित गरेको छ । नवीन धिताल /नेपालहोम्सबाट साभार

प्रकाशित मितिः     5:04:14 PM  |