- सुनिल उलक
नेपालमा शुरु शुरुमा तम्बाकुको प्रचलन बढी भए पनि बिस्तारै भारतीय चुरोटहरुले पुरै बजार ओगटेको थियो । चुरोटको अम्मलीहरु पनि बढ्न थालेको थियो । भारतीय चुरोटले बजार ओगटे पछि नेपालमा नै चुरोट फैक्ट्री राख्ने जमर्को गरियो ।
सोवियत संघ र नेपालको दौत्य सम्बन्ध भएको उपलक्षमा सोवियत संघले नेपालमा नेपालको आफ्नै निर्भरतामा चलाउन सकिने दुइ उद्योग खोलिदिने बचन दिएको थियो । जसको लागी नेपालले चिनी कारखाना र चुरोट कारखानाको लागी अनुरोध गरेको थियो ।
जसको फलस्वरुप विरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना स्थापनाको तैयारी भएको थियो । दुबै उद्योग २०२१ सालमा तैयारी भएर उत्पादन गर्न थालेको थियो ।
राजा महेन्द्रले २०२१ पौष २९ मा उद्घाटन गरेको यो चुरोट उद्योगले वार्षिक २ अरब ३६ करोड खिल्ली चुरोट उत्पादन गर्दथ्यो । शुरुमा गरुड, चुचुरा, सिंह, ज्वाला, जानकी नामका चुरोट उत्पादन हुन्थ्यो । पछि कोसेली, मुनाल, दोभान, कस्तुरी, हिमचुली, आशा उत्पादन भए । पछिल्लो चरणमा देउराली, उपहार, गैडा, याक, सयपत्री तथा लालीगुराँसहरु पनि उत्पादन गरेको थियो ।
२०४३ सालमा निजी स्तरमा सूर्य टोबाको कम्पनी खुल्यो । निजी कम्पनीको तिब्र ब्यापारिकरणमा ब्यापार ओगट्नु मात्र उद्धेश्य रहेन । जनकपुर चुरोट कारखानाको उत्पादनलाई प्रभाव पार्नु पनि रह्यो । जसले गर्दा बिस्तारै यस उद्योगका प्रबन्धक तथा उच्च पदस्थ कर्मचारीको अकर्मण्यता बाहिर आउन थाल्यो ।
२०४७ सालपछि देशमा राजनैतिक पार्टीको हालीमुहाली हुन थाले पछि यस कम्पनीको प्रमुखमा राजनैतिक नियुक्ती हुन थाल्यो । बिस्तारै राजनैतिक नियुक्तिको लागी पार्टीका ठूलाठालुलाई चढावा चढाउदै नियुक्ति लिने होड चल्यो । जसले गर्दा उद्योगको उत्पादन र बजारको महत्व भन्दा आफ्नो निजी स्वार्थ प्रमुख रहन थाल्यो ।
यसरी कारखाना घाटामा गएको बहानामा सरकारले यो सहित २३ सरकारी उद्योगलाई सरकारीकरण गर्ने बहानामा बिस्तारै बन्द गर्न थाले ।
यहाँ रहेको प्रिन्टिङ प्रेस तथा जेनेरेटर निकै उच्च स्तरको भए पनि सो पनि बिस्तारै कवाडी बन्दै गयो । देशकै मेरुदण्डको रुपमा रहेको एउटा उद्योग धराशायी भयो ।
हेरौ तस्विरमा यसका केही उत्पादनहरु साथमा केही नेपाल टोबाको कम्पनीको उत्पादन पनि राखेको छु ।