नेपालगन्ज : विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज वडा नंं. १० का उदयबहादुर सिंह श्रेष्ठले बाँकेका १८ जना पत्रकारलाई समाचार सम्प्रेशण गरेकै कारण धम्काएका छन् ।
भदौ २४ गतेका नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापामारेको थियो ।
सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीनदिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ ।
विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक खपत १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।
सोही सम्बन्धी समाचार प्रकाशन गरेको भन्दै बाँकेका १८ जना पत्रकार बिरुद्ध श्रेष्ठले समाजिक सन्जाल र फेसबुक लाइभमा चोरको आरोप लगाउने, पत्रकारलाई धम्क्याउने, अनेक मुद्दा लगाउँछु भन्दै त्रसित बनाउने कार्य गर्दै आएका छन् । श्रेष्ठको उक्त कार्यको बाँकेका पत्रकारहरुले घोर बिरोध एवं निन्दा गरेका छन् ।
समाचार लेखेकै आधारमा धम्क्याउने, बिभिन्न खाले आरोप लगाउने, मनोवल गिराउन खोज्ने खालका गतिविधि तत्काल रोक्न पत्रकारले माग गरेका छन् । समाचार सम्प्रेषणकै कारण धम्क्याउने निज श्रेष्ठलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरी समक्ष जोडदार माग गरिएको छ ।
सामाजिक सन्जालमा पत्रकारहरुको मानमर्दन गर्ने, नामै किटेर चोरीको आरोप लगाउने व्यक्ति बिरुद्ध कानूनी उपचार खोज्ने जानकारी पत्रकारहरुले दिएका छन् ।
समाचार संकलनका क्रममा हामी पुगेका पत्रकारहरुले आफ्नो आचारसंहितामै रहेर समाचार संकलन तथा सम्प्रेषण गरेको जनाउँदै यस्ता भ्रमपूर्ण खबरको कुनै सत्यता नरहेकाले भ्रममा नपर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरिएको छ ।