नेपालसहित भारतीय र चिनियाँ कम्पनीको स्यानीटाइजरमा भेटियो विषाक्त रसायन, प्रयोग नगर्न आग्रह


काठमाडौं। २ नेपाली कम्पनीसहित भारतीय र चिनियाँ कम्पनीको स्यानीटाइजरमा विषाक्त रसायन भेटिएको छ। औषधि व्यवस्था विभागले गरेको परिक्षणमा पुन ४ कम्पनीले विषाक्त रसायन मिसाई स्यानीटाइजर उत्पादन गरिरहेको पाइएको हो।

विभागले २ नेपाली र एक/एक चिनियाँ र भारतीय कम्पनीको स्यानिटाइजर प्रयोग गर्न नहुने जनाएको छ।

चिनियाँ कम्पनी ओपेकल नन्-वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १ सय २० एमएलको स्यानीटाइजरमा इथानोल ६८ प्रतिशत रहेको भेटिएको छ। यो गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो। यस्तै भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानीटाइजर ६० एमएलको बोटलमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ।

नेपाली कम्पनी सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्ट ह्यान्ड स्यानीटाइजर ५० एमएलको बोटलमा मिथानोल ३९।३४ प्रतिशत रहेको पाइएको छ। श्रीनाथ हर्बल कस्मेटिक इन्डस्ट्रीले उत्पादन गरेको ६५ एमएलको स्यानीटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको छ।


यी कम्पनीहरुको गुणस्तरमा शंका लागेपछि विभागले राट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्न पठाएको थियो। परिक्षणबाट उत्पादक कम्पनीहरुले गम्भीर लापरबाहि गरेको पाइएपछि ती कम्पनीको उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई अपिल गरिएको छ। यस्तै बजारबाट सबै सामाग्री फिर्ता गर्न समेत भनिएको छ।

कोभिड रोकथामको लागि प्रयोग गरिने स्थानीटाइजरमा न्युनतम ६५ प्रतिशत अल्कोहल हुनुपर्ने मापदण्ड छ।

 

प्रकाशित मितिः     10:02:47 AM  |