नेपालगन्जमा फुड बैंक स्थापना : हुनेले दिऔं, नहुनेले लैजाऔं


नेपालगञ्ज : नेपालगञ्जका दुई स्थानमा फुड बैंक हुनेले दिऔं, नहुनेले लैजाऔं भन्ने उद्धेश्यका साथ नेपालगन्जमा फुड बैंक स्थापना गरिएको छ ।

कोरोना भाईरसका कारण लक डाउन बढ्दै जाँदा रोजगारी, मजदुरी गुमाएर खानाको समेत जोहो नभएका व्यक्तिहरुलाई लक्षित गरि फुड बैंक स्थापना गरिएको हो । गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेको हलमा स्थापित फुड बैंकको औपचारिक उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा गरे ।

उनीहरुले रिबन काटेर बैंकको उद्घाटन गरेका हुन् । काँरकाँदौ र अस्पताल रोडमा गरि २ स्थानमा आज देखि फुड बैंक स्थापना भएका छन् । फुड बैंक उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले गरिव, असहायहरुको सहयोगका लागि फुड बैंक स्थापना भएको भन्दै बैंकले चुलो निभेकाहरुका लागि मलहम पट्टि लगाउने आशा व्यक्त गरे । उनले परोपकारी भावनाका साथ स्थापना भएको फुड बैंकको स्थापना अनुकरणिय प्रयास भएको बताए ।


उनले फुड बैंकका लागि ५ लाख बरावरको खाद्यान्न सहयोग उपमहानगरपालिकाको तर्फबाट गर्ने निर्णय भएको जानकारी दिदै भने–त्यस बाहेक केही खाद्यान्न आजै सहयोग गरिसकेकाछौं । उनले फुड बैंकका लागि १ महिना बरावरको तलब, भत्ता बाफतको रकम रु। ५० हजार सहयोग गर्ने घोषणा समेत गरे । कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले फुड बैंक गरिवहरुको सहयोगी हुने अपेक्षा राखिन् । उनले भनिन्–फुड बैंकको दिगो बिकासका लागि नेपालगञ्ज उपमहानगरपालिका संस्थागत सहकार्य गर्न तयार रहेको बताईन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले फुड बैंकका लागि आवश्यक सहयोग गर्ने बताए ।

फुड बैंक सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फुड बैंकका सहसंयोजक डाक्टर बिनोद कर्णले गरेका थिए । सोही कार्यक्रममा गैसस महासंघ नेपाल र जिल्ला युवा क्लब सञ्जाल बाँकेद्वारा प्रकाशित युवा नामक स्मारिका बिमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा सो पुस्तक बिमोचन गरेका थिए ।

आज देखि गैर सरकारी सस्था महासँघ नेपाल बाँके शाखाको हल, अस्पताल रोड र जयपृथ्वी सहकारी संस्थाको कार्यालय काँरकाँदौ चौकमा गरि दुई स्थानमा फुड बैंक सञ्चालनमा आएका छन् । अस्पताल रोडको बैंकको संयोजन, व्यवस्थापन बासले गर्नेछ भने काँरकाँदौमा रहेको बैंकको व्यवस्थापन, संयोजन रोटरी क्लब अफ नेपालगञ्जले गर्नेछ ।

प्रकाशित मितिः     4:55:01 PM  |