भाडामा बस्नेलाई घरबेटीको ‘स्कीम’ : भाडा सस्तो, पानी, बिजुली र वाईफाई फ्रि


काठमाडौं । कोरोना संक्रमणपछि काठमाडौंका घरबेटीहरूले आफ्ना कोठा र सटरहरू खाली हुन थालेपछि घरबेटीहरूले आफ्ना घरमा बस्न आउने डेरावालहरूलाई बिजुली, बत्ती र वाईफाईसमेत फ्रि दिने स्किम घोषणा गरेका छन् ।

विगत ६ महिनादेखि कोरोना भाइरसको क्रासका कारण काठमाडौं बाहिरबाट नआउने र बसिरहेको डेरावालहरू पनि कोठा छोडेर निस्किन थालेपछि उपत्यकाका घरबेटीहरूले यस्तो अफर सार्वजनिक गर्न थालेका हुन् ।

हाल घरबेटीहरूले कोठा खाली हुँदा पनि कोही बस्न नआएको भन्दै बत्ती, पानीमा लिँदै आएको शुल्क नलिने भन्दै विज्ञापन गर्न थालेका छन् । त्यस्तै डेरावालहरूका लागि अत्यावश्क र बढी खर्चालु वाईफाई इन्टरनेट शुल्क नलिने बताउँदै आएका छन् ।


पछिल्लो समय कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा छ्यापछ्याप्ती सस्तो दरमा कोठा पाइन थालेका छन् । कोरोना भाइरसका कारण रोजगारी र व्यापार व्यवसायी बन्द भएपछि सर्वसाधारणले कोठा छाड्ने र उपत्यका बाहिर रहेका भाडामा बस्ने व्यक्तिहरू उतै बस्ने थालेका छन् ।

कोठा भाडामा बस्ने मानिसहरू चार महिनासम्म पनि नआएपछि काठमाडौंका घरबेटीले सामान आफैं झिक्दै कोठा खालि गराउँदै आएका हुन् । अघिपछि जति कोठा खोजे पनि नपाइने काठमाडौंमा यतिबेला कोठा खाली हुने क्रम बढेको देखिन्छ ।

कोरोनाको कारण सबै व्यक्तिहरू यतिबेला गाउँघर तिरै छन् । काठमाडौंमा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै डेरावालहरू त्रसित भई आफ्नै गाउँघरमा बस्दै आएका छन् । जसको प्रत्यक्ष असर काठमाडौं घर धनीलाई परेको छ । कोरोना भाइरसका कारण काठमाडौंमा अझै पनि चहलपहल कम देख्न पाइन्छ ।

प्रकाशित मितिः     3:41:35 PM  |