काठमाडौं । गत चैत १० गते बेलुकासम्म एलिजा लामा टेम्पोको स्टेरिङ घुमाउँदै थिइन् । स्टेरिङ घुमाएर आफ्नो जीविकोपार्जन गर्दै आएकी लामा विगत ६ महिनादेखि टेम्पोबाट टाढा भएकी छिन् ।
सरकारले गत चैत ११ गतेबाट लकडाउन गर्ने निर्णय गरेपछि उनले आफ्नो टेम्पोलाई ग्यारेजमा लगेर राखिन् । ग्यारेजमा टेम्पो थन्किएको ६ महिना बितिसकेको छ । असोज १ गतेदेखि सवारीसाधन सञ्चालनमा आए पनि यात्रु भरिभराउ छैनन् । ६ महिनादेखि आर्थिक संकटमा परेकी लामालाई प्रभु बैंकले मंगलबार १ लाख रुपैयाँ सहुलियत पूर्ण कर्जा दिएको छ ।
उनी मात्र होइन उनीसँगै अरु ९ जना महिला अटो चालकलाई प्रभु बैंकले सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत १ लाख रुपैयाँ पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको छ । ६ महिनासम्म ब्याज नतिरे पनि हुने र त्यसपछि २ वर्षमा ऋण तिर्ने गरी प्रभुले ऋण उपलब्ध गराएको हो ।
एलिजालाई लागेको थिएन कि सरकारले लामो समयसम्म लकडाउन गर्छ र दैनिक गुजारा चलाउनै समस्या होला भनेर । तर, ६ महिना लामो लकडाउनले उनले चलाउने टेम्पोमा खिया लागिसकेको छ भने दैनिक गुजारा चलाउन समस्या भइरहेको छ ।
साथीभाइ र आफन्तहरुसँग सरसापट लिएर अहिलेसम्म जीविकोपार्जन गरे पनि अब विस्तारै दैनिक काममा फर्कन उनलाई साहस आएको छ । यस्तो समस्या एलिजालाई मात्र होइन, उनी जस्तै टेम्पो चलाउने शान्ति बस्नेतलाई पनि छ ।
उनी भन्छिन्, ‘हाम्रो कमाई भनेको स्टेरिङ समाउँदासम्म मात्र हो, त्यसपछि आउँदैन । यसरी कमाई नभएको ६ महिना भइसकेको छ । अहिलेसम्म जेनतेन घर चलाए पनि अबको दिन कसरी चलाउने भन्ने चिन्ताले उनी जस्तै सयौं चालकहरुलाई परेको छ ।
६ महिनापछि सरकारले सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्न दिएको छ । यसले केही मात्रामा चालकहरु खुसी भए पनि लामो समयदेखि थन्किएर रहेको गाडी मर्मत सम्भार गर्नेसमेत पैसा नहुँदा धेरैलाई समस्या परेको छ । साहूलाई बुझाउनु पर्ने किस्ताको चिन्ता त परैजाओस तत्कालै मर्मत सम्भार गरी चलाउने समेत पैसा नहुनेहरुका लागि प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ कर्जा योजना ल्याएको हो ।
बैंकले आइडिया स्टुडियोसँगको सहकार्यमा पहिलो चरणमा १० जना टेम्पो चालकलाई १÷१ लाख रुपैयाँ सरल कर्जा उपलब्ध गराएको हो । पैसाबाट पनि कोभिडको भाइरस सर्ने भएकोले त्यसबाट केहि जोगिन भन्दै प्रभु बैंकले टेम्पोमा क्यू आर कोड प्रविधि जडान गर्ने योजना समेत बनाएको छ । सहुलियत कर्जा लिएका टेम्पोमा सो प्रविधि जडान गरी सेफ र सेभिङ दुबै हुने अपेक्षा बैंकले लिएको छ । फोन मार्फतनै भाडा भक्तानी गर्न सहज होस भनेर क्यू आर कोडसँगै क्रेडिट र डेबिट कार्ड समेत प्रयोग गर्न मिल्ने प्रविधि जडान गर्ने योजना अघि सारेको छ ।
शिक्षित बेरोजगार र साना व्यवसायीलाई पनि सरल कर्जा
यो कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यवसाय साथै काठमाडांै उपत्यका बाहिर पनि लागू गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । कोभिडबाट प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, सवारी उद्यमी, शिक्षित युवा, विदेशबाट फर्केका युवा, परम्परागत पेशा र व्यवसायहरुको विद्यमान आर्थिक
कठिनाइलाई व्यवस्थापन गर्न र महामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुनःसुचारु गर्न सहयोग पुर्याउने अपेक्षा लिएको उनको भनाइ छ ।
पछिल्लो नियमित रुपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीका लागि आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबकाबीच आफ्नो घर व्यवहार चलाउन उनीहरु बाध्य छन् ।
अर्कोतिर, हाल विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।
त्यसैलाई मध्यनजर गरी मूलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसगको सहकार्यमा कोभिडको कारणले सहयात्रा समृद्धिको यो योजना कर्जासँगै मानवीय मर्यादाको पुनःस्थापना र जीवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास रहेको बताइएको छ ।
‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकून् भन्ने अभिप्राय केन्द्रित गरिएको बैंकले जनाएको छ । शिक्षकहरुलाई अधिकतम ४ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ ।
आइडिया स्टुडियोका अध्यक्ष छिरिङ लामाले समस्यामा परेका साना उद्यमीहरुलाई सहयोग गर्नुको साथै वित्तीय साक्षरताको ज्ञानसमेत दिन लागिएको बताए । ६ महिनासम्म काम गर्न नपाउँदा जीवन निर्वाह गर्न केही सहज होस् भन्ने आफूहरुको प्रमुख उद्देश्यक रहेको उनको भनाइ छ ।
घरेलु महिला कामदारलाई पनि ऋण
प्रभु बैंकले घरेलु महिला कामदारहरुलाई पनि सरलकर्जा दिने भएको छ । ६ महिनादेखि घरेलु कामदारहरु बेरोजगार भएको कारण उनीहरुको जीविकोपार्जनको लागि ५ प्रतिशत ब्याजमा सस्तो कर्जा दिन लागिएको जनाएको छ । योसँगै ब्युटिपार्लर सञ्चालकहरुलाई पनि ऋण दिन लागेको छ ।
कोभिडका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ बैंकले यस्ता कर्जाहरु उपलब्ध गराउन लागेको बताइएको छ ।