नेपालगन्जमा यसपालीको रामलिला प्रतिकात्मक मात्र हुने


नेपालगञ्ज । नेपालगञ्जमा यसपाली रामलिला नहुने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलिला मैदानमा हुँदै आएको रामलिला मञ्चन यसपाली कोरोना संक्रमणको परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गर्ने निर्णय गरिएको हो । नेपालगञ्ज १३ बाँकेबगियामा घटस्थापनाका दिनदेखि रामलिला हुने गर्दथ्यो ।

१ सय ५३ औं वर्ष प्रवेश गरिरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलिलालाई यसपाली सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पुजा पाठ भने गरिने भएको हो ।

रामलिला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कनोडियाको अध्यक्षतामा मंगलबार बसेको साधारणसभा बैठकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरेको हो । संरक्षक जैनेन्द्र कुमार टण्डन लगायतको उपस्थितिको सभा वैठकले रामलिला सञ्चालक समितिको पुनर्गठन गर्दै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सन्तोष कुमार कनोडियालाई अध्यक्षमा मनोनित गरेको छ ।


अध्यक्ष श्याम सुन्दर कनोडियाको केही दिन अघि मात्र निधन भएपछि उपाध्यक्ष कनोडियालाई सो पदमा चयन गरिएको हो । सभाले अहिलेको परिस्थितिमा अन्य कार्यक्रम सञ्चालनबारे आवश्यक अध्ययन गर्न सात सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलले सात दिनभित्र रामलिला मञ्चन बाहेकको कार्यक्रम स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्ने सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्यले जानकारी दिनुभयो ।

विष्णुलाल कुमालको संयोजकत्वमा गठित कायर्यदलमा आनन्द बहादुर कर्माचार्य, नन्दलाल वैश्य, भरत किशोर वैश्य, सुरेन्द्र कुमार वैश्य, रमेश चन्द्र प्रजापति र प्रभाकर भट्टराई सदस्य रहनुभएको छ । सभाले वैंक खाता सञ्चालन, शोक प्रस्ताव लगायतका निर्णय गरेको छ ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार १०:३२  |
error: Content is protected !!