कोरोनाका कारण बारबर्दियाका ३९ वर्षिय वडा अध्यक्षले ज्यान गुमाए


नेपालगन्ज ७ भदौ : नेपालगन्जको भेरी अस्पतालमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

निमोनियाबाट ग्रसीत भएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगनजको भेरी अस्पतालमा भर्ना गरीएको थियो ।

बिरामीको अवस्था झनै जटिल बन्दै गएपछि कोरोनाको उपचारकालागि आवश्यक सबै उपाय अवलम्वन गर्दा समेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जारी गरेको विवरणमा उल्लेख गरीएको छ । उनको उपचारकालागि ४ वटा भेन्टिलेटरको प्रयोग गरीएको थियो ।

उपचारकै क्रममा बुधबार बिहान १०: ३० बजे बिरामीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृतक बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष समेत हुन ।

यसअघि समेत बुधबार बिहान बर्दियाकै ६४ वर्षिय बृद्धको कोरोनाका कारण ज्यान गएको थियो । यो सँगै कोरोना कारण विभिन्न जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

अहिले बाँकेका प्रमुख जिल्ला अधिकारीको पहलमा बर्दियाका प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्थानिय तहसँग शव ब्यवस्थापनकालागि पहल भईरहेको श्रेष्ठले जनाएका छन ।

प्रकाशित मितिः     ७ आश्विन २०७७, बुधबार १२:४६  |