गुणस्तरहिन पाइएपछि बाँकेमा पानी उद्योग सिल


नेपालगन्ज ८ असोज :  बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधार बिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परीक्षणका क्रममा खान योग्य नदेखिएकोले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत वीर बहादुर विकले जानकारी दिए।

यस अघि सो उद्योगलाई पूर्वाधार उपयुक्त नरहेको भन्दै सुधारका लागि निर्देशन दिइएको भए पनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सिल गरिएको विकले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नाप तौल विभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो ।

पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याब सञ्चालनमा ल्याउनु पर्ने, पानीको जार र बोतलमा उत्पादन मिति र ब्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाइ गर्नु पर्ने प्रावधान रहेपनि उक्त उद्योगले त्यस्तो नगरेको पाइएपछि उद्योग सिल गरिएको हो । त्यसैगरि कोहलपुरकै वडा नम्बर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पुरा नगरी सञ्चालनमा ल्याइएको भन्दै सचेत बनाइएको छ ।

सो उद्योगलाई एक हप्ता भित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाइ गर्न , बजारमा पठाउँदा अनिवार्य सिल र लेबल लगाउन निर्देशन दिइएको विकले जानकारी दिए। अनुगमनका क्रममा कोहलपुरमा सञ्चालित पानी उद्योगहरूले मापदण्ड पुरा नगरेको पाइएको बिको भनाई रहेको थियो । केही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कारवाहीमा परेका थिए ।

प्रकाशित मितिः     ८ आश्विन २०७७, बिहीबार १३:४०  |