काठमाडौं । बैंकहरुले दिने कर्जाको औसत ब्याजदर घटेको छ । चालु आर्थिक वर्षको साउनमा कर्जाको औसत ब्याजदर १०.४७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जाको ब्याजदर १२ प्रतिशत थियो ।
आधारदर कम भएपछि कर्जाको ब्याजदर घटेको हो । बैंकहरुको आधारदर ८.०८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा आधारदर ९.४५ प्रतिशत थियो । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पनि घटेको छ ।
साउनमा निक्षेपको औसत ब्याजदर ५.७७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर ६.७७ प्रतिशत थियो । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा अन्तर बैंक कारोबार ब्याजदर घटेर ०.०२ प्रतिशत कायम भएको छ । २०७६ साउनमा १.१९ प्रतिशत थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक कारोबार ठप्प हुँदा ब्याजदर शुन्य अवस्थामा पुगेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढे पनि कर्जा लगानी गर्न पाएका छैनन् ।