गाडी आयात घट्दा २ महिनामा गुम्यो ८ अर्व बढी राजश्व


गाडी आयातमा गिरावट आउँदा सरकारले २ महिनामै ८ अर्व बढी राजश्व गुमाएको छ।

आर्थिक वर्ष २०७६र७७ को साउन र भदौको तुलनामा यो वर्षको सोही महिनामा सवारीसाधन आयात गर्दा संकलन हुने राजश्वमा ८ अर्व ६७ करोड ६७ लाख १२ हजार गिरावट आएको हो।

सरकारले गत वर्षको साउन र भदौमा १६ अर्व ३२ करोड ८७ लाख ८७ हजार राजश्व मात्र उठाएको थियो। यो वर्ष पहिलो दुई महिना, साउन र भदौमा ७ अर्व ६५ करोड २० लाख ७५ हजार मात्र राजश्व संकलन गरेको छ।

त्यस्तै गत वर्षको साउन र भदौमा १८ अर्व ४४ करोड २० लाख ८० हजारको सवारीसाधन आयात भएको थियो भने चालू आर्थिक वर्षको यही अवधिमा ९ अर्व ७४ करोड ९७ लाखको सवारीसाधन आयात भएको छ।

व्यवसायीले व्यापार नै गर्न नपाएकोले राजश्वमा गिरावट आएको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलाल बताउँछन्।

लकडाउन र निषेधाज्ञाको कारण सवारी साधन आयात घटेको देखिए पनि वर्षेनी घट्दै गइरहेको दुलालले बताए।

‘डाउन पेमेन्ट धेरै छ, लगानीमा सहजीकरण छैन, बजेट खर्च हुन सकेको छैन, कृषिमा विकास हुन सकेको छैन, बस–ट्रक बिक्री हुन सकेको छैन। यो सबैको ‘चेन इफेक्ट’ अटोमोवाइल्स व्यवसायमा परेको हो,- उनले भने।

स्थिति सहज हुँदै गइरहेकोले आगामी दिनमा यो क्षेत्र उकासिने उनको विश्वास छ।

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार १९:०५  |