मेयर राणाले भारतीय राजदूतसंग नेपालगन्ज-दिल्ली उडानको मुद्दा उठाए


नेपालगन्ज १४ असोज :  नेपालगन्जका मेयर धवल शम्सेर राणाले काठमाण्डौंमा भारतीय राजदूत विनयमोहन क्वात्रासंग भेटघाट गरेका छन् ।

भेटघाट क्रममा मेयर राणाले नेपालगन्ज- दिल्ली उडानको विषय उठाएका छन् भने नेपालगन्जलाई आधार बनाई पश्चिमको पर्यटकिय विकासमा भारतीय सीमावर्ती क्षेत्रको भूमिकाका विषयमा चर्चा गरेका छन् ।

महामहिम राजदूतसंग भेटघाट भएको छ । भेटघाटमा हामीले पहिल्यैदेखि भन्दै आएको नेपालगन्ज दिल्ली उडानमा सहयोग गर्नुपर्यो भन्ने आवाज उठाए । काठमाण्डौंबाट फर्किएका मेयरले मंगलवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा भने,- राजदूतले नेपालगन्ज -दिल्ली उडानका विषयमा नयाँ प्रगतिका विषयमा बुझ्ने जानकारी दिनुभयो ।

मेयर राणाले राजदूतसंग नेपालगन्ज -दिल्ली उडानका लागि सहयोग गर्न जोडदार माग गरेका छन् । नेपालमा लगभग सबै तयारी भइसकेपनि भारतले अनुुमति नदिदा नेपालगन्ज -दिल्ली उडान हुन नसकेको चर्चा चल्ने गरेको छ ।

मेयर राणाले नेपालगन्ज दिल्ली उडानका लागि सक्रियता देखाउने क्रममा राजदूतसंग भेटेका हुन । उनले सोही भेटघाटका क्रममा बाँकेको पर्यकियस्थलको विकासका बारेमा बाँकेसंग सीमा जोडिएका भारतीय क्षेत्रका जनप्रतिनिधि, प्रशासक एवं निजीक्षेत्रसंग भेटघाटको माहोल बनाउन आग्रह गरेका छन् ।

नेपालगन्जमा भारतीयक्षेत्रबाट पर्यटक तान्ने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवाज उठिरहेका बेला मेयर राणाले गरेको अनुरोधलाई राजदूतले सकारात्मक रुपमा लिएका छन् ।

मेयर राणाका अनुसार, कोभिडको अवस्था सामान्य हुँदा त्यस्ता बहस र छलफल अगाडी बढ्ने छ । मेयर राणाले नेपालगन्ज क्यासिनो अबका रुपमा विकास हुँदै गएकाले त्यसका लागि भारतीय पर्यटक भित्रिन सक्ने प्रशस्त सम्भावना रहेको बताए ।

मेयर राणाले नेपालगन्ज -पोखरा उडान पनि चाँडै गर्न घरेलु एयरलाइन्स कम्पनीलाई अनुरोध गरेका छन् । चर्चामै सीमित रहेको नेपालगन्ज पोखरा उडानका लागि एयरलाइन्स कम्पनी इच्छुक छैनन् ।

प्रकाशित मितिः     १३ आश्विन २०७७, मंगलवार १७:३५  |