भदौको विद्युत महसुलको जरिवाना असोज २२ सम्मका लागि छुट


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भदौ महिनाको विद्युत महसुल बुझाउँदा असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेको छ।
असोज २३ गतेपछि भने ३० गतेसम्ममा महसुल बुझाउँदा ५ प्रतिशत जरिवाना लिने निर्णय प्राधिकरण व्यवस्थापनले गरेको छ।

असोज महिनाको विद्युत महसुलमा भने साबिककै संकलन विधि अनुसार हुने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

कसैले भदौको महसुल भुक्तानी गर्दा जरिवाना तिरिसकेको भए उनीहरुलाई असोज महिनाको महसुलमा जरिवाना समायोजन गरिने भएको छ।

उपभोक्ताबाट महसुल सम्बन्धी गुनासो बढेको भन्दै ऊर्जा मन्त्री वर्षमान पुनले तत्काल समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए।

मन्त्री पुनले मंगलबार नै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर उपभोक्ताको महसुल सम्बन्धी गुनासो तत्काल समाधान गर्न निर्देशन दिएका थिए।

मन्त्रालयबाट फर्केपछि निमित्त कार्यकारी निर्देशक कोइरालाले असोज २२ गतेसम्म महसुल बुझाउँदा जरिवाना नलिन सबै वितरण केन्द्रलाई निर्देशन दिएका हुन्।

प्रकाशित मितिः     १४ आश्विन २०७७, बुधबार ०८:०१  |