कोभिडको मारमा ‘क्यासिनो सिटी’


नेपालगन्ज १४ असोज :  मेयर डा. धवल शम्सेर राणा नेपालगन्जलाई क्यासिनो सिटीका रुपमा बिस्तार गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

तारे होटलको संख्या बढ्दै गएको र भारत लगायत बिदेशी पर्यटक भित्रिने प्रशस्त सम्भावना भएपछि मेयर राणाले भनेझै यहाँ क्यासिनो खुल्ने क्रम पनि बढेको छ ।

हालसम्म तीनवटा क्यासिनो सन्चालनमा छन् । नयाँ क्यासिनो भित्रिने सम्भावना भए पनि कोरोना कहरका कारण ब्रेक लागेको छ । उपमहानगरपालिकाले त क्यासिनो प्रर्बद्धनका लागि कर छुटकै घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

तारे होटलसंगै भित्रिएको क्यासिनोहरुले नेपालगन्जमा धमाधम रोजगारी सिर्जना गरेको थियो । अहिले क्यासिनो सन्चालन नहुँदा कामदार घरमै बस्न बाध्य छन् । त्यहाँ कार्यरत कर्मचारी बेरोजागर भएर बस्न बाध्य छन् ।

तारे होटल र त्यसमा सन्चालित क्यासिनोले पश्चिमको ठुलो शहर नेपालगञ्जमा चहलपहल बढाएको थियो । भारतीय नागरिकहरु क्यासिनो खेल्न आउने गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले त यो शहरलाई क्यासिनो सिटी बनाउने कार्यलाई प्रर्बद्धन गर्ने गरी नीतिगत निर्णय नै गरेको छ । लगानी प्रोत्साहित गर्न कर छुट र सहजिकरणका लागि सहयोग गर्न तयार भएको कुरा मेयर राणा बिभिन्न मन्चहरुमा पटक–पटक बताइरहन्छन् ।

संघीयता कार्यान्वयन पछि नेपालगञ्ज कर्णालीबाट प्रशासनिकरुपमा अलग भयो । यता प्रदेश ५ को प्रशासनिक केन्द्र समेत नबन्ने निश्चित हुँदा नेपालगन्जमा आफु सुक्ने होकी भन्ने चिन्ता र चासो बढ्न थाले । ठिक यही समयमा यहाँ तारे होटल र क्यासिनोमा लगानी थपिदैछ । यो उत्साह यतिबेला कोरोना कहरले निरास बनाएको छ ।


पाँच तारे होटल सोल्टीमा क्यासिनो महाजोङ्ग सन्चालनमा छ । यो ठुलो क्षमताको लाईभ क्यासिनो हो । हालै मात्र चारतारे होटल सिद्धार्थमा क्यासिनो ज्याकपट सन्चालन भइरहेको छ । सबैभन्दा पहिले नेपालगञ्जमा असित शमसेर राणाको होटल स्नेहामा क्यासिनो सन्चालन भएको थियो । तर त्यहाँबाट सरेर ड्रिमल्याण्ड होटलमा पुगेको छ ।

क्यासिनो महाजोन झण्डै एक वर्ष अघि र ज्याकपट लकडाउन हुनुभन्दा दुई महिना अघि मात्र सन्चालन भएको थियो । यता पहिले स्नेहामा सन्चालन भएको मिनि क्यासिनोले अर्को होटलमा पूर्वाधार बनाउँदै गर्दा लकडाउन लाग्यो । यतिबेला यि होटल ठप्प छन् । सीमा नाका बन्द छ भने यतिका कोरोना जोखिममा क्यासिनो खेल्ने अनुमति दिने अवस्थै रहेन ।

यि क्यासिनोमा नेपाली जान बन्देज छ । बिदेशीका लागि मात्र खुल्ला गरिएको छ । भारतका बिभिन्न ठाउँबाट उनीहरु यहाँ क्यासिनो खेल्न आउने गरेका छन् । क्यासिनो खेल्न आउनेका कारण होटलमा समेत चहलपहल बढेको थियो ।

नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटल परिसरमा रहेको क्यासिनो महाजोङ्गका सल्लाहकार मुरारीबाबु कार्की क्यासिनोले नेपालगञ्जमा पर्यटक तान्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । उनले भनेका–‘हामी बिशुद्ध क्यासिनो मात्र चलाउने छैनौ । पश्चिममा पर्यटक ल्याउन पनि भूमिका खेल्छौ ।’

क्यासिनोले रोजगारी बृद्धि गरेको छ । एउटै क्यासिनोमा सय देखि दुई सय जनाले रोजगारी पाएका छन् । रोजगारी पाउने मध्ये अधिकांस स्थानीय छ । उनीहरुको आर्कषक तलव छ । तर यतिबेला कोरोना कहरले यि सबै रोजगारी गुमाउन बाध्य बनाएको छ ।

प्रकाशित मितिः     १४ आश्विन २०७७, बुधबार ०७:५४  |
error: Content is protected !!