पर्यटन सचिव भन्छन् -नेपालगन्ज विमानस्थलको स्तरोन्नतीलाई प्राथमिकतामा राखेका छौं


नेपालगन्ज २० असोज :  पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालगन्ज विमानस्थल पश्चिमको ट्रान्जिट हव भएकाले पूर्वाधार विकासमा कुनै कमी नहुने बताएका छन् ।

अहिले विमानस्थलको स्तरोन्नतीको काम भइरहेको छ । मन्त्रालय अन्र्तगतकै एउटा कार्यक्रममा सहभागि हुन नेपालगन्ज आएका बेला पर्यटन सचिव अधिकारीले नेपालगन्ज विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने बजेटमा कुनै समस्या नहुने बताएका हुन ।

उनले पश्चिमकै ट्रान्जिट हव भएकाले त्यसै अनुसार पूर्वाधार तयार गर्दै लैजान लागेको पनि जानकारी गराए ।

सोही कार्यक्रममा नेपालगन्जका मेयर धवल शम्सेर राणाले नेपालगन्जदेखि दिल्ली उडानको प्रसंग कोट्याएका थिए ।

यो उडान शुरु गर्ने कार्यको पहल गर्न पर्यटन सचिवको ध्यानार्कषण गराउँदै मेयर राणाले पूर्वाधार निर्माणमा आफुहरु समेत सहयोग गर्न तयार रहेको जानकारी गराए ।

मेयर राणाले नेपालदेखि दिल्ली उडानको विषयमा भारतीय राजदूत विनयमोहन क्वात्रासंग पनि छलफल गरिसकेका छन् ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पनि नेपालगन्जदेखि दिल्ली उडान लगायत पश्चिम आउने बिदेशी पर्यटकका लागि लागु गरेको महंगो हवाई भाडा घटाउन सुझाव दिएका थिए ।

प्रकाशित मितिः     २० आश्विन २०७७, मंगलवार ०७:०१  |