काठमाडौं । गाडी बिक्रेतासँगै बैंकपनि आक्रमक अफर लिएर आएका छन् । चाडपर्वको समयमा नेपालीहरुले नयाँ सवारी साधन धेरै किन्ने हुँदा बिक्रेता कम्पनीहरुसँगै बैंकहरुले पनि विगतदेखि नै अटो लोनमा विशेष स्कीम संचालन गर्दै आएका छन् ।
कोभिड १९ को असर बढ्दै गएसँगै कर्जा मागमा आएको कमीले बैंकहरुले लगानी बढाउन सकिरहेका थिएनन् । त्यसमा पनि अटो लोन बैंकको लागि सबैभन्दा सुरक्षित कर्जाको रुपमा रहँदै आएको छ । यस्तोमा बैंकहरुले पनि आफ्नो वेस रेटमा नै कर्जा उपलब्ध गराउन थालेका छन् ।
अहिले बैंकहरुको औषत वेस रेट ९ प्रतिशत हाराहारीमा रहेको छ । कुनै बैंकको ६ प्रतिशत वेसरेट रहेको छ भने कुनै कम्पनीको १० प्रतिशत रहेको छ । यस्तोमा कम वेसरेट रहेका बैंकहरुले कम व्याजदरमा अटो लोन अफर गर्न सक्ने छन् । वेसरेट भन्दा कम व्याजदरमा भने बैंकहरुले लगानी गर्न सक्ने छैनन् ।
अटो लोनमा आक्रमक बैंकहरु
अहिले अटो कर्जा दिन सबैभन्दा आक्रमक रणनीति लिएको बैंक एनआइसी एशिया हो । बैंकले ८.२५ प्रतिशत व्याजदर र सून्य सर्भिस चार्जमा अटोलोन दिने स्कीम संचालन गरिरहेको छ । बैंकले विभिन्न गाडी बिक्रेता कम्पनीहरुसँग सम्झौंता नै गरेर अटो कर्जा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरि स्टायडर्ड चाटर्ड बैंकपनि सधै अटो लोनमा आक्रमक बैंक हो । बैंकले अहिले ८ प्रतिशत व्याजदरमा अटो लोन उपलब्ध गराउने छ । एभरेष्ट बैंक अर्को आक्रमक मार्केटिङ गर्दै आएको बैंक हो । बैंकले कार तथा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई समेत अटो लोन उपलब्ध गराउँदै आएको छ । बैंकले कार किन्ने ग्राहकलाई ८.९८ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ ।
प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, राष्ट्रिय बाणिज्य बैंक पनि कम व्याजदरमा कर्जा उपलब्ध गराउने बैंकमा पर्छन् । यी बैंकहरुबाट अटो लोन लिँदा १० प्रतिशत हाराहारीमा कर्जा पाउन सकिन्छ ।
के के चाहिन्छ कागज पत्र
अटो लोनको लागि चाहिने कागज पत्रमा पहिलो ग्राहकको आय स्रोत खुल्ने प्रमाण हो । कुनै पनि ग्राहकले आफ्नो मासिक आम्दानीको ५० प्रतिशत भन्दा बढी इएमआई (मासिक किस्ता) नहुनेगरि मात्रै कर्जा सुविधा पाउने छन् । त्यसैले तपाईले कुनैपनि कार कुन्नुअघि आफ्नो मासिक कमाई अनुसारको कार छनोट गर्नु पर्ने हुन्छ । र, मासिक कमाई खुल्ने कागज पत्र पेश गर्नु पर्ने हुन्छ ।
त्यसैगरि तपाईको नागरिकताको फोटोकपी, २ प्रति फोटो, आफ्नो ६ महिनाको बैंक स्टेटमेन्ट, कम्पनीको नाममा कार किन्ने हो भने दर्ता प्रमाण पत्र, प्यान दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र, नियमावली, संचालकको विवरण, ५० लाखभन्दा बढी मूल्यको गाडी किन्ने व्यक्तिको लागि अनिर्वाय प्यान नम्बर, आफ्नो वासस्थानको नक्सा जस्ता डकुमेन्ट तयार गरेर मात्रै बैंक जाँदा सजिलो हुन्छ ।