दुई लाखभन्दा कम मूल्यमा तिन उत्कृष्ट १२५ सीसीका मोटरसाइकल


काठमाडौं । नेपाल सवारी साधन महंगो मूल्य भएको देश हो । यहाँ मोटरसाइकल, स्कुटरदेखि कारसम्ममा उच्च कर लगाइएको कारण महंगो मूल्य तिरेर किन्नु पर्ने अवस्था रहेको छ ।

पछिल्लो दुई वर्षदेखि सरकारले इन्जिन क्षमताको आधारमा सवारी साधनमा कर लगाउँदै आएकाले कम सीसीका सवारीसाधनमा कम कर र बढी सीसीका साधनमा बढी कर लाग्दै आएको छ । यस्तोमा कम रकममा मोटरसाइकल खोज्ने ग्राहकलाई बजारमा राम्रो मोटरसाइकल पाउनै मुश्किल पर्ने गरेको छ ।

बजाज, टीभीएस र हिरोले नेपालमा बिक्री गर्दै आएका १२५ सीसी क्षमताका मोटरसाइकल दुई लाखभन्दा कम मूल्यमा पाउन सकिन्छ । अहिले बजाज डिस्कभर १२५ डिस्क, हिरो सुपर स्प्लेन्डर र टीभीएस स्टाइकर नेपालमा उपलब्ध १२५ सीसी क्षमताको इन्जिन भएका कम मूल्यका मोटरसाइकल हुन् ।

होन्डा सिबी साइनपनि कम मूल्यको १२५ सीसी क्षमताको इन्जिन भएको मोटरसाइकलमा पर्छ यद्यपी यसको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ । यामाहा सलुटो पनि २ लाख १३ हजार ९०० रुपैयाँ मूल्य निर्धारण भएको मोटरसाइकल हो । त्यसैले हामीले यहाँ बजाज, हिरो र टीभीएसका मोटरसाइकलको मात्रै चर्चा गरेका छौं ।

यी तीनवटा मध्ये सबैभन्दा कम मूल्य रहेको मोटरसाइकल टीभीएस स्टाइकर हो । जगदम्बा मोटर्सले नेपालमा बिक्री गर्दै आएको स्टाइकरको मूल्य १ लाख ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

१२५ सीसीको इन्जिन जडान भएको स्टाइकर निकै किफायती मोटरसाइकलमा पर्छ । यसलाई एक लिटर पेट्रोलबाट ६० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ । अहिले दशैंको अवसरमा कम्पनीले यसलाई नगदमा किन्नेलाई ९ हजार रुपैयाँ छुट दिएको छ भने ५० प्रतिशत डाउन पेमेन्ट गर्नेलाई सून्य प्रतिशत व्याजदरमा दिने जनाएको छ ।

हिरोको उत्पादन स्प्लेन्डर नेपालीहरुको लागि नौलो नाम होइन । निकै सफल र चर्चित स्प्लेन्डरको १२५ सुपर स्प्लेन्डर मोडललाई नेपाल जनरल मार्केटिङ प्रालिले १ लाख ९८ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

हिरोले पनि दशैंमा विशेष स्कीम संचलान गरिरहेको छ । कम्पनीले सुपर स्प्लेन्डरको खरिदमा ५ हजार रुपैयाँ नगद छुट र १ हजारदेखि १ लाखसम्म जित्न सक्ने स्क्र्याच कार्ड प्रदान गर्ने छ । साथै कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल उपलब्ध गराउने छ ।

१२५ सीसी क्षमताको इन्जिनमा उपलब्ध यो मोटरसाइकलले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्ने छ ।

बजाज डिस्कभर अर्को चर्चित मोडल हो । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको बजाज डिस्कभर १२५ डिस्क भेरियन्टको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले दशैं स्कीम अन्तर्गत १० हजार नगद छुट तथा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने छ । १२५ सीसी क्षमताको इन्जिन रहेको यो मोटरसाइकल माइलेजको कारण पनि निकै चर्चामा रहने गरेको छ । यसलाई एक लिटर पेट्रोलबाट ७० देखि ७५ किलोमिटर गुडाउन सकिने छ ।

अहिले दशैं स्कीम चलिरहेकोले ग्राहकले यी मोटरसाइकलमा निकै राम्रो छुट पाइरहेका छन् ।

प्रकाशित मितिः     २१ आश्विन २०७७, बुधबार ०६:४३  |