नेपाली भूमिबाटै कैलाश दर्शन, हुम्लाका युवाले शुरु गरे टुर प्याकेज


नेपालगन्ज २१ असोज :  कोभिडको महामारी नभइदिएको भए यतिबेला नेपालगन्ज र सिमीकोटका होटलहरु कैलाश मानसरोवर दर्शन गर्न जाने दर्शालुले घचाघच भरिन्थे । तर यसपाली त्यस बिपरित सबै होटल सुनसान छन् ।

तर पनि हुम्लाका पर्यटन व्यवसायीले हार खाएका छैनन् । उनीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली भूमिबाटै कैलाश मानसरोवरको दर्शन गर्ने गरी टुर प्याकेज शुरु गरेका छन् ।

तीन दिनप्रति आन्तरिक पर्यटक आर्कषित भएको हिल्सा टुर एण्ड ट्राभलका प्रबन्धक बिष्णु रावतले बताएका छन् । उनका अनुसार तीन दिने प्याकेजमा हुम्लाका आर्कषक पर्यटकीय ठाउँहरु अवलोकन त गर्न पाइन्छ नै अन्तिम दिन कैलाश मानसरोवरको दर्शन गर्न पाइन्छ ।

रावत भन्छन्–‘कोभिडका कारण तिब्बत नाका पनि भएको अवस्था छ भने भारतीयहरु पनि आएका छैनन् । यसको बिकल्पमा हामीले आन्तरिक पर्यटक लक्षित यो प्याकेज ल्याएका छौं ।’ सदरमुकाम सिमीकोटबाट जीपको तीन दिनको यात्रा पछि लिमीको लाप्चा पुगिन्छ । उक्त बोलेर जीप हवाईजहाजबाट हुम्ला लगिएको हो ।  जीपको यात्रा दश घण्टाको मात्र भएपनि बाटोमा खानपिन र अन्य ठाउँ घुम्ता तीन दिन लाग्ने हो । रावत भन्छन्–‘यहाँको पुराना गुम्बा, नदी ताल तलैैया घुम्ता तीन दिन लाग्छ ।’

लाप्चाबाट अनि कैलाशको दर्शन गरिन्छ । ‘पहिले कैलाशलाई फन्को र तालमा नुहाउन पाइन्थ्यो । फरक यति मात्र हो अहिले त्यो बाहेक बाँकी दर्शन गर्न पाइन्छ । यहाँ आउने आन्तरिक पर्यटक हाम्रो प्याकेजदेखि खुसी हुनुहुन्छ ।’– रावतले भने ।

अहिले आन्तरिक र काठमाण्डौबाट आउने पर्यटकलाई कैलाश दर्शन गराइएको छ । काठमाण्डौबाट सिमीकोट आउने जाने प्लेन भाडा सहित तीन दिनको प्याकेजको रु ८० हजारसम्म लाग्छ । नेपालगन्जबाट जाँदा भने केही मूल्यमा फरक पर्छ । प्लेनमा आउजाउ सहित खाने, बस्ने र कैलाशको दर्शन गर्नेसम्मको प्याकेज सस्तो रहेको रावतले बताए।

 

  

 

 

प्रकाशित मितिः     २१ आश्विन २०७७, बुधबार १७:५०  |