बजार अनुगमनका क्रममा सुध्रिने मौका समेत नदिई धमाधम कारवाही नगर्न व्यवसायीको अनुरोध


नेपालगन्ज २४ असोज :  नेपालगन्जका उद्योगी, व्यवसायीले नियतबस उपभोक्ता ठग्नेलाई कारवाही गर्न र अन्जानबस हुने कमजोरीमा सुध्रिने मौका दिन बजार अनुगमनकर्ताहरुसंग अनुरोध गरेका छन् ।

अन्जानबस हुने कमजोरीमा समेत ठुलो सजाय दिने कार्यप्रति उनीहरुको ध्यानार्कषण भएको छ ।

बजार अनुगमनका क्रममा व्यवसायीहरु धमाधम कारवाही पर्न थालेपछि शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघमा किराना व्यवसायीहरुबीच छलफल आयोजना गरिएको थियो ।

संघको बजार अनुगमन समितिले गरेको कार्यक्रममा बोल्ने व्यवसायीहरुले नियतबस उपभोक्ता ठगी गर्ने कार्यको बिरोध गर्दै नियत नराखेर हुने कमजोरीलाई सच्याउन मौका दिन अनुरोध गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नियम संगत तरिकाले व्यापार व्यवसाय गर्न सबैलाई अपील गरे ।

कसैले औला उठाउन नमिल्ने गरी पसललाई चुस्तदुरुस्त राख्नुपर्ने बताउँदै भने,–‘यति गर्दागर्दै पनि अन्जानबस हुने कमजोरीमा भने सुध्रिने मौका दिनुपर्छ ।’

अध्यक्ष मन्सुरीले नियतबस उपभोक्तालाई मर्का पार्ने कार्यमा संलग्नको पक्षमा आफुहरु नभएको बताए ।

नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले कतिपय व्यवसायीहरु नियमत कानूनका विषयमा अनभिज्ञ रहेकाले उनीहरुलाई सिक्ने मौका दिनुपर्नेमा जोड दिए ।

उनले भने,–‘अक्षम्य अपराध गरेका छन् भने त्यसमा केही बोल्ने कुरा भएन । तर सुधारे सुध्रिने खालको कमजोरी भएका छन् भने सरकारी निकायले सुध्रिने अवसर दिनुपर्छ ।’

कार्यक्रममा बोल्दै व्यवसायी एवं कारकाँदोका जनप्रतिनिधि समेत रहेका दिग्गबिजय ढुङ्गानाले बजार अनुगमनका नाममा व्यवसायीलाई मानसिक तनाव पार्ने कार्य हुन नहुनेमा जोड दिएका छन् ।

अन्य व्यवसायीसंगै ढुङ्गानाले कार्यक्रममा भने,–‘मेरो त छापामार्ने भन्ने शब्दप्रति नै आपत्ती छ । के–के ठूलो अपराध गरेको शैलीमा छापामारेको भनेर होहल्ला गर्नु ठिक भएन । जसले जानीजानी उपभोक्ता ठग्छ उसलाई कारवाही गरौ, जसले नजानेर गल्ती गरेको छ उसलाई सुध्रिने मौका दिउँ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघ बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले व्यवसायीहरुलाई पसल चुस्तदुरुस्त राख्ने बनाउने गरी प्रचारात्मक अभियान शुरु गरिएको बताउँछन् ।

‘पसलमा के कस्ता कुरा राख्न मिल्ने वा नमिल्ने ? नियम कानूनमा के छ भन्ने विषयमा धेरै व्यवसायीहरु अनभिज्ञ हुनुभएको छ । उहाँहरुलाई त्यसका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम राखेका हौं ।’– रानाभाटले भने,–‘यसका साथै व्यवसायीहरुले बजार अनुगमनका क्रममा भोग्नुपरेका समस्याका बारेमा पनि जानकारी आदानप्रदान गर्नुभयो ।’

प्रकाशित मितिः     २४ आश्विन २०७७, शनिबार १८:३२  |