नेपालगन्ज विमानस्थलको स्तरोन्नतीको काम धमाधम


नेपालगञ्ज, असोज २४ गते । नेपालगञ्ज विमानस्थल विस्तारको काम अगाडि बढेको छ । हाल सो विमानस्थलको रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रिया शुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा गत ६ महिनामा विमानस्थल विस्तारको काम योजना अनुसार अगाडि बढाउन नसकिएको जनाउँदै हाल आएर सो योजनालार्ई पुनः अगाडि बढाईएको बताए ।

उन्ले बन्दाबन्दीमै जहाज पार्किंगस्थल निर्माणकार्य पूरा भएको जनाउँदै रनवे विस्तार, टर्मिनल भवन निर्माण र जग्गा खरिद प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिए । सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० बर्षे गुरुयोजना तयार पारेर सोही बमोजिम चार चरणमा काम भइरहेको छ ।

नागरिक उड्डयन कार्यालयका प्रमुख ठाकुरले पहिलो र दोस्रो चरणका काम अहिले भइरहेको जनाउँदै रनवे बिस्तार, टर्मिनल भवन निर्माण र जग्गा अधिग्रहणको काम गरिने जनाए । पहिलो र दोस्रो चरणमा तीन अर्ब ५० करोडभन्दा बढी बजेट खर्च गरिने योजना रहेको उनको भनाई छ ।

रनवे विस्तार र टर्मिनल भवन निर्माणको टेण्डर केही दिनमै आह्वान गरिने जनाउँदै प्रमुख ठाकुरले जग्गा खरिदको फाइल पनि मन्त्रालयमा पठाईएकोमा सो पास भएर आउने वित्तिकै जग्गा खरिद गर्ने कार्य शुरु गरिने बताए ।

विमानस्थल विस्तारका लागि हाल रनवे भएको क्षेत्रको उत्तर, दक्षिण र पश्चिमतिरको जग्गा खरिद गरिने योजना छ ।
विमानस्थलको गुरुयोजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे ३ सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइनेछ ।

विमानस्थल विस्तारका लागि एक सय बिघा जग्गा थप खरिद गरिनेछ । हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप एक सय बिघा जग्गा खरिद गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
नेपालगञ्ज–दिल्ली उडान माग

यसैविच बाँकेका उद्योगी व्यवसायी लगायत अन्यले पनि छिटोभन्दा छिटो विमानस्थल विस्तारको काम पूरा गरेर नेपालगञ्ज–दिल्ली हवाई उडान शुरु गर्न माग गरेका छन् ।

नेपालगञ्ज लगायत पचिम नेपालकै पर्यटन र आर्थिक विकासका लागि नेपालगञ्ज–दिल्ली हवाई उडान कोशेढुंगा साबित हुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

उनले नेपालगञ्ज–दिल्ली उडानको माग यस क्षेत्रका व्यवसायीले लामो समयदेखि गर्दै आएको जनाउँदै सो बारेमा नेपाल र भारत सरकार दुबै सकारात्मक रहेकोले छिटो गर्न दवाव दिंदै आएको जनाए ।

यसैगरि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाले नेपालगञ्ज–दिल्ली हवाई उडानले नेपालगञ्जको मात्र नभई पश्चिम नेपालकै पर्यटन र आर्थिक क्षेत्रमा ठूलो टेवा दिने भएकोले आफूहरुले पटक पटक सो का लागि माग गर्दै आएको बताए ।

प्रकाशित मितिः     २५ आश्विन २०७७, आईतवार ०६:३५  |