दुई अर्ब ३९ करोडको बिगो माग्दै सुन व्यवसायी बिरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा


नेपालगन्ज २७ असोज । राजस्व अनुसन्धान विभागले सुनको अवैध ओसारपसार गरेर राजस्व चुहावट गरेको भन्दै सुनिल सोनी र अमित परियारविरुद्ध २ अर्ब ३९ करोडको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

विभागले सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो। सोनी भारतीय नागरिक हुन्। तर उनले नेपाली नागरिकतासमेत लिइसकेको अनुसन्धानबाट खुलेको छ। उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएको फेला परेको छ। परियारले सोनीलाई अवैेध कारोबारमा सघाउँथे।

तीन महिनाअघि विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल चौराहाबाट सोनीलाई उनको कारभित्र बोरामा लुकाइछिपाइ राखेको नगदसहित पक्राउ गरेको थियो। विभागले तीन महिनासम्म गरेको अनुसन्धानमा उनले सुनचाँदी तस्करी गरिरहेको खुलेको हो। सुन तस्करीकै लागि उनले रुपन्देही सिद्धार्थनगरमा सोनी ज्वेलर्ससमेत खोलेका थिए।

उनले सोनी गोल्ड एण्ड सिल्भर प्रालि भन्ने अर्को पसल समेत खोलेका थिए। राजस्वका अधिकारीहरुका अनुसार उनले आफ्नो कारोबारलाई वैध बनाउन सुनचाँदी पसल खोलेका थिए। त्यहाँबाट गरगहना बिक्री होइन सुन तस्करी हुने गर्थ्यो।


सोनीले सुन चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गरेको अनुसन्धानबाट खुलेको थियो। कारोबारस्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर, बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरेको खुलेको हो।

तस्करीबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेको अनुसन्धानमा खुलेको छ। उनीविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ बमोजिम मुद्दा अघि बढ्ने भएको छ।

सोनीले भन्सार चोरी निकासी पैठारीतर्फ २ अर्ब २३ करोड र आयकरतर्फ १६ करोड ४१ लाख राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ।

प्रकाशित मितिः     २७ आश्विन २०७७, मंगलवार ०८:३४  |
error: Content is protected !!