काठमाडौं । मिति सकिएर गुणस्तरहीन भइसकेका सामानमा नयाँ मिति टाँसेर बजारमा पठाउने कार्य गरिरहेको विशाल ग्रुपलाई नेपाल उद्योग वाणिज्य महासंघले आचार सहिंता विपरीत भएको ठहर गरेको छ ।
महासंघले एक विज्ञप्ति निकाल्दै आफूले बनाएको आचार सहिंतालाई ख्याल गरेर व्यवसाय गर्न पनि सम्झाइको छ । विशाल ग्रुपले नष्ट गर्नुपर्ने सामग्रीमा धमाधम नयाँ मिति टाँसेर बजारमा पठाइरहेको प्रहरीले फेला परेको थियो ।
नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुपले मानव स्वास्थ्यलाई प्रतिकुल असर हुने गरी गुणस्तरहीन सामानमा नयाँ मिति टासिरहेको बेला प्रहरीले फेला पारेको थियो ।
‘कसैले यस्तो कार्य गरे आचार संहिता विपरीत हुन्छ,’ महासंघले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यवसायी तथा व्यावसायिक घरानाले मानव स्वास्थ्यलाई प्रतिकुलता हुने गरी कार्य गर्न पाइने छैन ।’
कोरोना महामारीका बेला कहिकतै कम गुणस्तरीय सामान बिक्री भएको, उपभोग्य मिति गुज्रेका सामानको बिक्रीवितरण, म्याद गुज्रिएको वस्तु पुनः उपभोग्य मिति राखी बजारमा पठाएको, निश्चित तौल नपुर्याइ सामान बजारमा बिक्री गरेपछि महासंघले आफैले बनाएको आचारसहिंता सम्झाएको हो । यद्यपि, महासंघले बनाएको आचार सहिंता कानुन भने होइन । पालना गर्ने वा नगर्ने स्वयम् व्यवसायीमाथि निर्भर रहन्छ ।
महासंघको ३८ औं बार्षिक साधारणसभाबाट पारित आचार सहिंताको बुँदा ४ मा गुणस्तरीय सामान र सेवा उचित मूल्यमा बजारमा प्रवाहित गर्ने, तोकिएको गुणस्तर, तौल परिमाणमा नै सामान उपलब्ध गराउने र मिसावट गर्न नहुने उल्लेख गरेको छ । सोही बुँदालाई टेकेर महासंघले विशाल ग्रुपलाई निजी क्षेत्रले बनाएको आचार सहिंतालाई स्मरण गराएको हो र यसको मर्मविपरीत नगर्न पनि भनेको छ ।
त्यसैगरी आचार सहिंताको बुँदा नम्बर ३ पनि आम जनताको स्वास्थ्यको प्रतिकुल हुने कार्य नगर्ने उल्लेख छ । बुँदा नम्बर २ मा व्यवसाय गर्दा सार्वजनिक हितको संरक्षण, सम्बद्र्धनमा विशेष ध्यान दिने, सदाचार, सार्वजनिक मूल्य र मान्यतालाई आँच आउन नदिने उल्लेख गरेको छ ।
तर, विशाल ग्रुपले शक्तिको आडमा गुणस्तरहीन सामानमाथि नयाँ मूल्य टाँसेर धमाधम बजारमा पठाइरहेको फेला परेको हो । विशाल ग्रुप पनि महासंघको सदस्य हो । त्यही भएर आचारसहिंता स्मरण गराएको महासंघले जनाएको छ ।