बीरेन्द्रनगर-४ वडा कार्यालयका कर्मचारी बिरुद्ध मुद्दा, राजश्व बैंकमा जम्मा नगरी आफै खर्च गर्थे


नेपालगन्ज २९ असोज :  बीरेन्द्रनगर नगरपालिकाको ४ नं वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं १३ स्थायी बसोवास भएका रत्न बहादुर बिक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिकले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेका थिए ।

सोही सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले बिकलाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा बिक ले बीरेन्द्रनगर नगरपालिका वडा नं ४ को कार्यालयबाट राजस्व रकम रु २० लाख २० हजार संकलन गरेकोमा बिभिन्न मितिमा रु ४ लाख १६ हजार ६०० बैंकमा दखिला गरी रु १६ लाख ३ हजार ४६७ राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको देखिएको पाइएको प्रवक्ता अधिकारीले बताए ।

संकलित राजस्व रकम कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव इन्द्र प्रसाद अधिकारीसमेतको प्रत्यक्ष मिलेमतो एवं संलग्नता र मद्दत पुर्‍याएको देखिएको अख्तियारको दावी छ ।

वडा सचिव अधिकारी र प्रशासन सहायक बिकले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड ग बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि हुन आएको हुँदा उनीहरुलाई बिगो सोह्र लाख तीन हजार चार सय सतसठ्ठी रुपैंया एक पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड च बमोजिम कैद सजाय हुन र ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनका साथै हिनामिना गरेको लाख सोह्र हजार सात सय सत्र रुपैंया एक पैसा अधिकारी र रत्न बहादुर बिकबाट असुल उपर गरी जफत हुन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मितिः     २९ आश्विन २०७७, बिहीबार ०९:२६  |