आँट र हिम्मतले सफल भएकी नेपालगन्जकी महिला उद्यमी कृष्णा पाठक


आँट, हिम्मत र साहस । यी तीन गुण भएपछि महिलाले पनि पुरुष सरह नै काम गर्न सक्छन् भन्ने उदाहरण हुन् कृष्णा पाठक । हर मोडमा अनेकौँ ठक्कर खाएर पनि निरन्तरको संघर्षले उनलाई सफल, सबल एवम् उदाहरणीय महिला उद्यमीको सूचीमा पुर्याएको छ । सामान्य किसानी परिवारमा जन्मिएर पनि उनी अहिले ‘युनिभर्सल एकेडेमी अफ हस्पिटालिटी म्यानेजमेन्ट’ विद्यालय चलाईरहेकी छिन् ।

२०२९ साल पौष १५ गते चितवनमा जन्मिएकी कृष्णा कक्षा ७ सम्म चितवनमै पढिन् । ८ देखि १० सम्म उनको पढाई बर्दियामा भयो । क्याम्पस भने उनले नेपालगञ्जमा पढिन् । समाजशास्त्रमा मास्टर्स डिग्रिको अध्ययन पूरा गरेकी कृष्णा पाठक विगत ५ वर्षदेखि हस्पिटालिटीको क्षेत्रमा सक्रिय छिन् ।

आठ वर्ष इजरायलमा दुःख

मध्ययम वर्गीय परिवारका जन्मिएकी उनीहरु ६ सन्तान थिए । ४ दाजुभाई र २ दिदी बहिनी रहेको उनको परिवारमा सामान्य अवस्थामा नै थियो । दुःख गरेर उनले ब्याचलरसम्म पढिन् । २०४६ साल जेठ २५ गते उनको बिहे भयो । आफैँले श्रीमान रोजेर उनले बिहे गरिन् । स्याङ्जाको वालिङका युवकसँग उनले बिहे गरेकी थिइन् । परिवार राम्रो भएर पनि उनीहरु साथमै रहन सकेनन्। हाल उनी एक्लै छिन् ।

बिहे भएपछि उनले आफ्नै सक्रियतामा गाडी किनिन् । लामो दूरीका रात्री बसहरु, लोकल बसहरु जोडजाम गरेर उनले काम थालिन् । तर उनले सोचेजस्तो साथ सहयोग परिवार र आफन्तबाट पाउन नसक्दा आर्थिक रुपमा उनी दुर्बल बन्दै गइन् । २०५७ सालमा उनको घरmमा चोरी भयो । गाडी बेचेर घरमै राखेको १० औँ लाख रुपैयाँ पैसा चोरी भएपछि उनलाई नैराश्यताको बादलले ढपक्कै छोप्यो ।

२०५० सालदेखि घरेलु तथा साना उद्योग महासंघमा कर्मचारीको रुपमा काम गर्दै आएकी उनी २०६० सालसम्म त्यही थिइन् । तर आर्थिक रुपमा कमजोर बन्दै गएपछि उनले विदेश जाने निधो गरिन् । त्यसपछि २०६१ सालमा उनी सामान्य अभिमुखीकरणको भरमा इजरायल उडिन् । उनले २०६८ सालसम्म इजरायलमा नै दुःख गरिन् । इजरायल खुलेको पहिलो ‘लट’ मा नै उनी गइन् ।

‘इजरायल खुलेको पहिलो वर्षमा नै गएँ, कुनै सिप थिएन, सामान्य वरेन्टेशनकै भरमा गएको थिए’ उनले भनिन्, ‘हिब्रु भाषा बोल्नुपर्थर्यो, सुरुमा साह्रै भयो । तर, पूरै हिब्रु मात्रै बोल्ने भएकाले चाँडै सिके, ६ महिना जतिमा पूरै बुझ्ने र बोल्ने भईसकेको थिएँ ।’

उनले बृद्धाश्रममा साढे ३ वर्ष काम गरिन् । पछि उनले हस्पिटालिटीमा काम गर्ने अवसर पाईन् । ‘केयर गिभर’ को रुपमा अस्पतालमा रहेका बृद्धाहरुको सेवा गरिन् ।

विदेशबाट फर्किएर अटो व्यवसाय

उनी २०६८ सालमा विदेशबाट फर्किइन् । उनलाई महिलाले केही पनि गर्न सक्दैनन् भन्ने सामाजिक चेतको दबाई खोज्नु थियो । त्यसका लागि पुरुष सरह व्यवसायिक हैसियत कायम गर्ने सोचिन् । उनले काठमाडौँको ज्ञानेश्वरमा ‘कृष्णा ट्रेडर्स’ मार्फत अटो व्यवसायमा हात हालिन् ।

४ वटा मोबिलको डिलर, इन्भर्टर ब्याट्री, टायरका डिलर्स र कार एसेसिरिजको काम उनले गर्न थालिन् । २०७२ सालसम्म काठमाडौँमै बसेर उनले राम्रो बजार विस्तार गरेकी थिइन् । ४ जना कामदार मार्फत काम थालेकी उनले केहीलाई ‘पार्ट टाइम’ रोजगारी पनि दिएकी थिइन् ।

‘ग्राहक आउँथे, काम गर्ने मान्छे नभएको बेला पर्यो भने ग्राहक त्यसै फर्किन नपरोस् भनेर सबै काम आफैँले सिके’ उनले भनिन्, ‘एक वर्ष जतिमा त म गाडीका हरेक पार्टस् पूर्जा आफैँ जोड्न सक्ने भए ।’

उनको साथमा रहेकी छोरी अष्ट्रेलिया गइन् । त्यसपछि उनी आफ्नो ‘स्टाटस’ बनाउन २०७२ सालमा आफ्नै ठाउँ नेपालगञ्ज फर्किइन् । त्यहाँ पनि उनले सोही व्यवसायलाई निरन्तरता दिने प्रयास नगरेकी होइनन् । तर, दक्ष जनशक्ति र सामान ल्याउन भारत नै पुग्नुपर्ने भएपछि उनले व्यवसायिक धार बदलिन् ।

एक करोड गुमाए

उनलाई समाजसेवा गर्न एकदमै मन पर्छ । समाजशास्त्री विद्यार्थी उनले २०६० सालमै मास्टर्सको पढाई थालेकी थिइन् । बाध्यताले परदेशिनु परेपछि उनको त्यतिबेलाको चाहाना अधुरै रह्यो । तर, विदेशबाट फर्किएपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिएर मास्टर्सको पढाई सकिन् ।

सामाजिक क्रियाकलापमा संलग्न हुने रहरले उनलाई तानिरहन्थ्यो । कर्ण शाक्यद्वारा लिखित सोच किताब पढेपछि उनमा अझ धेरै उर्जा भरियो । त्यसै शिलशिलामा उनले बृद्धाश्रम खोल्ने सोच बनाएका साथीहरुसँग भेटिन् । साथीहरुले भने अनुसार उनले आश्रम खोल्न आर्थिक लगानी पनि गर्ने भईन् । तर बृद्धबृद्धाको सेवा गर्ने पवित्र भावना बोकेर हिडेका भनेका साथीहरुबाट उनलाई धोका भयो । उनले एक करोड रुपैयाँ गुमाउन पुगिन् ।


अनि हस्पिटालिटीको उदय भयो

जताजतै ठक्कर खाएपनि उनको मनले हिम्मत हारेन । व्यवसायमा एक्लै लाग्न असजिलो, गाडीमा सामान लिन आफैँ भारतका शहरहरुमा डुल्नुपर्ने बाध्यता, पहिलो ६ महिनामा घाटाको व्यापार र बृद्धाश्रमको नाममा आफू ठगिएपछि उनले हस्पिटालिटी म्यानेजमेन्ट पढाउने निधो गरिन् । नेपालगञ्जमा अहिले पनि पहिलो नम्बरमा गनिने गरी चलिरहेको ‘युनिभर्सल एकेडेमी अफ हस्पिटालिटी म्यानेजमेन्ट’ ले कयौँ विद्यार्थीहरु उत्पादन गरिरहेको छ ।

हाल डेढ वर्षको डिप्लोमा कोर्स पनि पढाई भईरहेको छ । इन्टर्न गर्न विद्यार्थीहरुलाई चीन पठाईन्छ । सिटिइभिटीबाट सम्बन्धन पाएको यो ‘युनिभर्सल एकेडेमी अफ हस्पिटालिटी म्यानेजमेन्ट’ ले प्रोफेशनल कुकको तालिम पनि दिन्छ एक वर्षे । कुकिङ हाउस किपिङ जस्ता कोर्सहरु ६ महिना पढाएर इन्टर्न गराइन्छ ।

इन्टर्न सकेकामध्ये ८० प्रतिशतले रोजगारी पाएका छन् भने बाँकी पनि दक्ष कामदारको रुपमा विदेश गएका छन्। अब छिट्टै थाइल्याण्ड, मलेसिया र अष्ट्रेलियामा इन्टर्नको लागि नेपाली विद्यार्थी पठाउने उनको लक्ष्य छ ।

‘हस्पिटालिटीबारे अझै पनि भ्रम छ, यसलाई होटलमा काम गर्ने त हो नि भनेर व्याख्या गरिन्छ’ कृष्णा भन्छिन्, ‘तर, सेलिब्रेटी, मन्त्री, कलाकार, डाक्टर जस्ता सबै क्षेत्रका प्रोफेशनल मान्छेहरु भेटिने क्षेत्र यही हो । यहाँ पैसा पनि कमाउन सकिन्छ, पढाई पनि चाहिन्छ, तर त्यो भन्दा ठूलो सिप चाहिन्छ । हस्पिटालिटी यस्तो क्षेत्र हो, जहाँ मान्छेले सिप प्रयोग गरेर महिनामा लाखौँ कमाउन सक्छन् ।’

उनले पढाउन सुरु गर्दा पहिलो वर्ष एक जना मात्रै छात्रा विद्यार्थी हुँदा उनलाई दुःख लागेको थियो रे । त्यसपछि हरेक वर्ष महिला विद्यार्थीको संख्या बढाउन उनले अभियान नै थालिन् । अहिले छात्र र छात्रा लगभग बराबर जस्तै छन्। अब उनलाई यसैमा ‘ब्याचलर’ सम्मको कोर्स पुर्याउने योजना छ ।

‘सहकारीलाई खारेजी हुनबाट जोगाए’

उनी घरेलुमा काम गर्दैगर्दा २०५२ सालमा एउटा सहकारी पनि खोलेकी थिइन् । ‘नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था’ भनेर घरेलुकै संयोजनमा उनले दर्ता गरिन् । तर, यसको निश्चित उदेश्य थियो र यो सहकारी जन्मिनुमा एउटा कारण पनि थियो ।

कृषि विकास बैंकबाट ऋण लिएका एक जना व्यवसायीको घर जग्गा लिलाम हुने अवस्था आएपछि उनलाई संकटबाट बचाउन यो सहकारी जन्मिएको थियो । उद्यमीहरु मात्रै सदस्य हुने पाउने गरी दर्ता भएको यो सहकारी कृष्णा विदेशिएपछि गुमनाम नै भयो ।

उनले २०७३ सालमा नेपालगञ्जमा पुगेर खोजी गर्दा खारेजीको सूचीमा परेको थाहा पाईन् । त्यसपछि सहकारी विभागसँग अनुनय विनय गरेर विभागका अधिकारीहरुको विश्वास जितेर उनले उक्त सहकारी खारेज हुनबाट जोगाईन् । त्यसपछि विधान संशोधन गरेर सबै नागरिकहरु सदस्य बन्न पाउने प्रावधान कायम गरिन् । कार्यक्षेत्र पनि बढाएर बाँके जिल्लाभरी कायम भएको यो सहकारीमा कृष्णा पाठक उपाध्यक्ष छिन् ।

‘महिलालाई विश्वास गरियोस्’

उनी सामाजिक क्रियाकलापमा निकै सक्रिय छिन् । घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५ को महिला समितिको उपाध्यक्ष रहेकी उनी जिल्ला बचत संघ बाँकेको लेखा संयोजक छिन् । लायन क्लबमा आवद्ध भएर पनि उनले सामाजिक क्रियाकलापहरु गर्दै आएकी छिन् ।

घरेलुमा आवद्ध भएको वर्षौ भएका कारण उनलाई यो संस्थाको निकै माया लाग्छ । दक्ष जनशक्ति अभावमा भारत लगायतका देशबाट कामदार ल्याउनुपर्ने बाध्यता देख्दा उनको मन कुडिन्छ । मूलुकमै दक्ष जनशक्ति उत्पादन नहुँदा मूलुक दिनप्रतिदिन परनिर्भर बन्दै गएको उनको बुझाई छ।

अर्को कुरा, महिला लक्षित कार्यक्रमहरु लक्षित वर्गसम्म पुर्याउन अवरोध भईरहेको उनको अनुभव छ । सरकारले घोषणा गरेका कार्यक्रमहरु गर्न नेता मन्त्रीहरुको ‘पावर’ लगाउनुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने उनको माग छ । सरकारी योजनाहरु महिला केन्द्रित बन्नुपर्ने, महिलालाई अधिकार दिन हिचकिचाउनु नहुने र महिलालाई प्रोत्साहन गर्नुपर्ने उनको माग छ । र, विेशष कुरा महिलालाई अविश्वास गर्न नहुने उनी बताउँछिन् ।

हाल १० जनालाई प्रत्यक्ष रोजगारी दिईरहेकी कृष्णाले सयौँको संख्यामा दक्ष जनशक्ति उत्पादन गरेर कसैलाई दक्ष कामदार र कसैलाई आत्मनिर्भर बनाईसकेकी छिन् । उनी अझै यो अभियानमा अनवरत लागिरहेकी छिन्।

निरोजकुमार थापा(बिजपाटीबाट साभार)

प्रकाशित मितिः     7:21:21 AM  |