बाँके १ कात्र्तिक : सात महिनापछि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुल्ला गरिएको छ । यो निकुञ्जले पर्यटनका क्षेत्रमा बिश्वभर नाम कमाएको छ ।
कोभिडका कारण गत चैत्र महिनादेखि निकुञ्ज पर्यटकका लागि बन्द गरिएको थियो ।
तर कात्र्तिक १ गतेबाट लागु हुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुल्ला गरिएको सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले जानकारी दिएका छन् ।
निकुञ्जले जङ्गल वाक र जङ्गल सफारी शुरु गरेको हो । तर यसक लागि निकुञ्जले स्वास्थ्य मापदण्ड जारी गरेको छ । निकुञ्जले जारी गरेको स्वास्थ्य एवं अन्य मापदण्ड यस्ता छन्-
लामो समयपछि निकुञ्ज खुल्ला भएपछि पर्यटन व्यवसायीहरु उत्साहित छन् । स्वास्थ्य मापदण्ड पालना गरेर अब निकुञ्ज बन्द नहुने गरी सन्चालन हुनुपर्ने उनीहरुले बताएका छन् ।
ठाकुरद्धारा पर्यापर्यटन समितिका अध्यक्ष कृष्ण भट्टराईले पर्यटकका लागि निकुञ्ज खोलेपछि कोभिडका कारण निरास व्यवसायी उत्साहित भएको बताए । पछिल्लो सात महिना आफुहरुका लागि निकै कष्टकर भएको उनले बताए ।
अब भने बिस्तारै जुर्मुराउनुपर्ने बेला आएको भनाई छ ।
बर्दिया राष्ट्रिय निकुन्ज
स्थापनाः २०३२ साल (सन् १९७६)
म. क्षे. स्थापनाः २०५३ साल (सन् १९९६)
क्षेत्रफलः ९६८ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः ५०७ वर्ग कि.मि.
शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।
बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सखुर्ते तर्फ विस्तार गरिएको छ ।
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ ।
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।
यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।