शिलालेखमा मेयरको नाम देखेपछि उपमेयरको बबाल


धनगढी :  कैलालीमा सिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयरले विरोध गरेकी छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ७ को भवन उद्घाटन कार्यक्रममा सिलालेख नराखेको भन्दै उपमेयर प्रेम कुमारी थापाले सिलालेखमा ढुङ्गा बजार्दै विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको छ ।

मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिकै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ ।

मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न भन्छन्। त्यती नै बेला कार्यक्रमै उपस्थित एक महिलाले के तरिका हो रु भन्छिन्। उपमेयर थापा रिसाउँदै ‘किन तरिका होइन् ? ’ भनेर जवाफ फर्काइएको सुनिन्छ ।

मेयर चौधरीले हात हटाउँदै मर्यादाको पनि हद हुन्छ नी भन्दै बस्न आग्रह गर्छन्। तर उपमेयर उनको आग्रहलाई मान्ने पक्षमा देखिदैनन् ।

मेयर ममताप्रसाद चौधरीले आफ्नो नाम नराखेको भन्दै उपमेयर थापाले वडा कार्यालयको भवन उद्घाटनका क्रममा सिलालेखमा ढुङ्गा बजारेको बताए ।

यता उपमेयर थापाले पनि सिलालेखमा आफ्नो नाम राख्न आग्रह गर्दागर्दै पनि मेयर र प्रमुख प्रशासकिय अधिकृतले वाइपास गरेकाले त्यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएकी छन् ।

‘सिलालेखमा मेरो नाम राखेनन् त्यसैको उपज आजको परस्थिती आएको हो ।’ उनले भनिन् ।

वडा नम्बर ७ का वडा सदस्य देवचरण चौधरीका अनुसार सिलालेखको विषयलाई लिएर मेयर उपमेयरबीच हात हालाहालको अवस्था सिर्जना भएपनि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

 

प्रकाशित मितिः     १ कार्तिक २०७७, शनिबार १७:०६  |