पानीको मूल्यमा आफूखुसी गर्नेलाई कडा कारबाही तयारी


काठमाडौं। पानी प्रशोधन उद्योगहरूले बेच्ने जारमा पुरानै मूल्य कायम नगरे कारबाहीमा पर्ने भएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको पानीमा पुरानो मूल्य कायम नभए व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो।

व्यवसायीले आफूखुसी भाउ बढाएर बिक्री गरेको भेटिए तत्कालै कार्वाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए। पानीको मूल्य आफूखुसी बढाएर बिक्री गरेको पाइएपछि व्यवसायीलाई पुरानो मूल्यमा बेच्न सचेत गराउँदै आएका थियौं,-उनले भने, -आजदेखि बढी मूल्य लिएको भेटिए सिधै कार्वाही गर्ने भएका छौं।

केही दिनयता व्यवसायीले बजारमा मूल्य नतोकी पानी झार्ने गरेको र उपभोक्तालाइ बढी मूल्य लिएको सूचनाको आधारमा अनुगमन विभागले अनुगमन बढाएको छ। सम्झाउँदा अटेर गर्नेलाई थुनेर कारबाही चलाउनेसम्मको तयारी गरेका छौं,-उनले भने। गत सोमबार पानी व्यवसायीहरुसँग बढेको मूल्य फिर्ता लिने र तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको विभागले जनाएको छ।


पुरानो मूल्यमा बिक्री भएको छ की छैन भनेर विभागका केही अनुगमन टोलीले अनुगमन गरिरहेका छन्। व्यवसायीले बढी मूल्य लिएको पाइएमा तत्काल उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने उनले बताए।

संसदीय समितिले पनि पानीको मूल्यका विषयमा चासो लिएको छ। व्यवसायीले परिपत्र गरी पानीको मूल्य बढाएको हुँदा विभागले कार्टेलिङ गरेको भन्दै थुनेर कार्वाही गर्ने चेतावानीसमेत दिएको छ। बजारमा पानीको मूल्यमा एकरूपता ल्याउने भन्दै भदौ १० देखि जारको पानीमा बजार अधिकतम मूल्य ५० रुपैयाँ तोकिएको थियो। तर संसदीय समितिले उक्त निर्णय तत्काल कार्यान्यनमा नल्याउन निर्देशन दिए पनि व्यवसायीले प्रति जार ५० देखि ६० रुपैयाँ लिन थालेका थिए।

प्रकाशित मितिः     १ कार्तिक २०७७, शनिबार १६:५४  |
error: Content is protected !!