दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद


कैलाली । दार्चुलामा डेढ करोड बढीको यार्सागुम्बा बरामद भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले जानकारी दिए ।

बरामद यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको विष्टले जानकारी दिए ।

प्रकाशित मितिः     ३ कार्तिक २०७७, सोमबार १२:००  |