स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्यास


सरकारले सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल मङ्सिर १५ मा एकैपटक शिलान्याश गर्ने गरी तयारी थालेको छ ।

आइतवार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीहरू बीच कोरोना रोकथाम नियन्त्रण र समन्वय गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ ।

सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरूको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्याश मङ्सिर १५ गाते गर्ने गरी तयारी मिलाउने ।

त्यसका लागि आवश्यक पर्ने आइसीयु, एचडीयु, भेन्टिलेटर लगायतका मेसिन उपकरण तकाल खरिद गर्ने गरी तयार कार्ययोजना अनुसार खरिद प्रक्रिया मन्त्रालयले अघि बढाउने र आवश्यक पर्ने स्रोत अर्थ मन्त्रालयले मिलाउनेसमेत बैठकले निर्णय गरेको हो ।

यससँगै भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनीश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहयोगमा अघि बढाउनेबारेमा सहमति जुटेको थियो ।

बैठकले आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः     ३ कार्तिक २०७७, सोमबार २०:३९  |