प्याजको निकासी प्रतिबन्ध खुकुलो पार्दै भारत, चाहिए जति आउन थाल्यो


काठमाडौं । प्याजको निकासीमा रोक लगाएको भारतले पछिल्लो समय भने प्याज निकासीलाई सहज बनाउन थालेको छ ।

गएको भदौ २९ गते भारतले प्याज निकासी बन्द गरेपछि त्यसको प्रभाव नेपाललाई परेको थियो । तर, पछिल्लो दिनहरूमा भने नेपालले चाहिए जति प्याज भारतबाटै ल्याइरहेको व्यवसायीले बताएका छन् ।

काठमाडौं उपत्यकाको ठूलो तरकारी बजार कालीमाटीमा सामान्य अवस्थामा भारतबाट ६० देखि ६५ टन प्याज भारतबाट भित्रिने गथ्र्यो । तर, असोज महिनाको अन्तिम साताका दिनमा भारतबाट ३० देखि ४० टन प्याज आयात भएको देखिन्छ ।

यता, कात्तिक महिना सुरु भएसँगै ४० देखि ४५ टन हाराहारीमा कालीमाटीमा भारतकै प्याज भित्रिने गरेको कालीमाटी तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

असोज महिनामा ७७५ टन प्याज कालीमाटीमा भित्रिएकोमध्ये ७५२ टन भारतीय प्याज कालीमाटीमा भित्रिएको उनले बताए । कात्तिक महिनाको १ र २ गते ७५ देखि ८० टन प्याज भारतबाट कालीमाटी बजारमा भित्रिएको उनले बताए ।

सुरु–सुरुको अवधिमा दैनिक १० देखि १५ टनसम्म मात्रै भारतबाट प्याज भित्रिने गरेकोमा पछिल्ला दिनमा भारतबाट प्याज आयात बढ्न थालेको हो ।

यसअघि भारतले निकासी रोक्दा जस्तो समस्या अहिले नभएको श्रेष्ठ बताउँछन् । ‘अघिल्लो वर्ष भारतले रोक्दा प्याज हाहाकार नै भएको थियो, ५०० रुपैयाँसम्ममा पनि प्याज खानुपरेको थियो । त्यो पनि चाइनिज प्याज आउँथ्यो’ उनले भने, ‘अहिले त्यो समस्या छैन, भारतबाट आउन रोकिएको छैन ।’

अहिले प्याजको खुद्रा मूल्य ११० देखि १३० रुपैयाँसम्म प्याज किन्न पाइन्छ । ‘सम्भवत भारतले पनि प्याज निकासी प्रतिबन्धमा फितलो गरिदिएको हुनसक्छ, व्यापारीको आफ्नो नेटवर्कबाट पनि प्याज आएको छ,’ उनले भने, ‘होइन्, भने ४०÷४५ टन प्याज दैनिक कालीमाटीमा अहिले कसरी आइरहेको छ ।’

मूल्य बढेपछि उपभोक्तामा पनि प्याजको मागमा कमी आउँदा त्यति अभाव नरहेको व्यापारीहरू बताउँछन् ।
कोभिडको कारणले प्याजको माग पनि कम भएको व्यापारी बताउँछन् । होटल, रेष्टुरेन्ट, होस्टेल लगायतमा प्याजको माग बढी हुने गथ्र्यो । तर, अहिले ती क्षेत्र कोभिड महामारीले बन्द छन् ।

भारतले प्याज निकासी रोकेपछि केही व्यापारीहरूले लुकीछिपी प्याजको कालोबजारी समेत गरेका थिए । कालीमाटी तरकारी बजारमा मात्रै ८० प्रतिशत भारतीय प्याजको कारोबार हुन्छ ।

नेपालमा प्याजको उत्पादन नगन्य मात्रामा हुन्छ । नेपालमा प्याजमा परनिर्भरकै अवस्थामा छ । नेपालमा बर्सेनि भारतबाट झन्डै ४ अर्ब रुपैयाँको प्याज आयात हुँदै आएको थियो ।

प्रकाशित मितिः     ३ कार्तिक २०७७, सोमबार २०:४९  |