स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा साढे चार अर्ब खर्च गरे, अब कति छन् क्वारेन्टिनमा ?


काठमाडौं। कोभिड-१९ व्यवस्थापन/ नियन्त्रणमा देशभरका स्थानीय तहहरुले कात्तिक पहिलो सातासम्म चार अर्ब ५९ करोड रुपैयाँभन्दा बढी खर्च गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट स्थानीय तहहरुलाई संघ सरकारले आवश्यक बजेट उपलब्ध गराउँदै आएको छ।

स्थानीय तहहरुले क्वारेन्टिन र आइसोलेसन वार्डको निर्माण एवम् सञ्चालन, कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यमा स्थानीय तहहरुले रकम खर्च गरिरहेका छन्। स्थानीय तहहरुले निर्माण र सञ्चालन गरिरहेका क्वारेन्टिन केन्द्रको संख्या छ हजार नौ सय ५५ रहेको छ जसमा बेड संख्या दुई लाख ४३ हजार रहेको मन्त्रालयले जनाएको छ।


कात्तिक पहिलो सातासम्म यी क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या करिब एक लाख ५४ हजार रहेको बताइएको छ। उक्त कोषमा अहिलेसम्म दुई हजार १४ संस्थाहरुले सहयोग रकम जम्मा गराएको मन्त्रालयले जनाएको छ। सरकारले गत चैतमा ५० करोड रुपैयाँको राहत कोष स्थापनाको घोषणा गरेको थियो।

प्रकाशित मितिः     12:15:48 PM  |