काठमाडौं । कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएपछि उनीहरु आफै स्वरोजगार बन्न लागेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्न आउनेको संख्या बढेपछि रोजगारी गुमाएकाहरु स्वरोजगारतर्फ अघि बढेको पुष्टि भएको हो ।
कार्यालयका अनुसार अहिले औसत १ सय ५० ओटा भन्दा बढी नयाँ कम्पनी दर्ता भइरहेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा कोरोना संक्रमण फैलिएकाले काममा केही बाधा पुग्दा पनि नयाँ कम्पनी खोल्नेका भीड बढ्दै गएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ हजार ७ सय १८ नयाँ कम्पनी दर्ता भएका छन् । तर, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने यो संख्या १५ प्रतिशत कम हो । गत आर्थिक वर्षको तीन महिनामा ७ हजार ८ सय १८ कम्पनी दर्ता भइसकेका थिए ।
कार्यालयका अनुसार यो आवको तीन महिनामा गत आर्थिक वर्षको भन्दा बढी कम्पनी दर्ता हुन्थे । तर, कोरोना संक्रमण पछि कर्मचारी आइसोलेसनमा गएको र डिजिटल माध्यमबाट दर्ता गर्नका लागि केही प्रक्रिया मिलाउँदा कम भएको कार्यालयले बताएको छ ।
दर्ताका लागि आवेदन दिनेको संख्या भने बढी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा दर्ता संख्या कम भए पनि राजस्व उठ्ती भने बढेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा ८ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ५२ लाख रुपैयाँ मात्रै संकलन भएको थियो ।